न्यूज डेस्क | जेठ ४, २०८३ सोमबार
रौतहटको बौद्धिमाई नगरपालिका–८ सरमुजवास्थित शंकर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रामबाबु यादवमाथि भएको कुटपिट प्रकरणपछि शिक्षकहरू आन्दोलित भएका छन्।
पीडित शिक्षक यादवका अनुसार विद्यालयमा पढाइरहेका बेला उनलाई नगर शिक्षा संयोजक रमेश यादवले नगरपालिकामा बोलाएका थिए। त्यसपछि नगरपालिका पुगेका उनलाई नगर प्रमुख प्रदीप यादवले आफ्नै कार्यकक्षमा कुटपिट गरेको आरोप छ।
शिक्षक यादवले भदौको जेन्जी आन्दोलनका बेला फेसबुकमा राखिएको स्ट्याटसको विषयलाई लिएर आफूलाई अपशब्द प्रयोग गर्दै रस्सीले बाँधेर कुटपिट गरिएको दाबी गरेका छन्। घटनामा वडा नम्बर ८ का अध्यक्ष बिन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जैसवालको समेत संलग्नता रहेको उनको आरोप छ।
घटनापछि शिक्षक संघ–संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कानुनी कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरूले जेष्ठ ५ भित्र कारबाही नभए सडक संघर्षमा उत्रिने बताएका छन्।
प्रहरीले कारबाहीमा ढिलाइ गरेको भन्दै पीडित पक्षले सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेपछि विषय थप चर्किएको छ।