न्यूज डेस्क | जेठ ४, २०८३ सोमबार

रौतहट।  जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने चाँदी नदी क्षेत्रमा नदीजन्य पदार्थको तीव्र उत्खनन् भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उत्खनन् कार्य बढ्दो क्रममा रहे पनि सम्बन्धित नियमनकारी निकायहरू मुकदर्शक बनेको आरोप स्थानीयले लगाएका छन्।


चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित टेकान क्षेत्रको मूल सडक प्रयोग गरी दैनिक दर्जनौँ टिपर गाउँको बीचबाट आवतजावत गर्दै सयौँ टिप नदीजन्य पदार्थ ढुवानी भइरहेको स्थानीयको भनाइ छ। ग्रामिण भित्रि सडकको भारबहन क्षमता भन्दा अत्यधिक लोड गरिएको टिपरहरूबाट बाटोमा पानी चुहिने, अत्यधिक धुलो उड्ने तथा तीव्र गतिमा हुने गरेपछि सम्भावित दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्।



नगरपालिकाले ठेक्का लगाएको भए पनि मापदण्ड उल्लंघन भएको आरोप स्थानियले लगाएका छन् । स्थानीयका अनुसार नगरपालिकाले विधिवत रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीका लागि ठेक्का लगाए पनि व्यवहारमा भने तोकिएको मापदण्ड पालना नभएको देखिएको छ।



चन्द्रपुर नगरपालिकाले “नदीजन्य पदार्थको बिक्री सम्बन्धी आय ठेक्का तथा ढुंगा, गिट्टी, बालुवा, रोडा उत्खनन्” शीर्षकमा चाँदी खोलाको क्षेत्र वडा नं. ३ र ४ मा उत्खनन् अनुमति दिएको उल्लेख छ। ठेक्का सम्झौता अनुसार सूचना पाटीमा उल्लेख विवरण अनुसार उक्त कामको सम्झौता मिति  २०८२/१२/०८ गते भएको र उत्खनन गर्न २०८३ जेठ मसान्त सम्मलाई तोकेको छ । तर ठेक्का पाएको एम.आर. कन्स्ट्रक्सन बरहथवा, सर्लाहीले सो अबधिभित्र नगरपालिकाले तोकेको मात्रा भन्दा बढी भन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन् गर्न उद्दत रहेको देखिन्छ ।

चन्द्रपुर नगरपालिकाबाट ठेक्का नंबर NCB/CM/2082/083/03 मार्फत १ करोड ६८ लाख ९९ हजार ६० (भ्याट सहित) रकममा कम्पनीले लिएको ठेक्कामा  ६८ हजार ९६७ घनमिटर मात्र उत्खनन् गर्न पाइने उल्लेख छ । तर, सो परिमाण पुरा भईसकेको भएता पनि नगरपालिका र डिभिजन बन कार्यालयले समेत  स्थलगत अनुगमन नगरेको आरोप स्थानियले लगाएका छन् ।  स्थानीयवासीको दाबी अनुसार उक्त ठेक्कामा तोकिएको मात्रा भन्दा धेरै नदीजन्य पदार्थ निकालिसकिएको र दैनिक सयौ टिप ग्रेबल निकाल्ने काम झन तिब्र भएको छ।

स्थानीयहरूले ठेक्का प्रक्रियामा केही जनप्रतिनिधिहरूको समेत साझा लगानी रहेको आशंका व्यक्त गरेका छन्। यही कारण नगरपालिकाले अनियमित उत्खनन् तथा ढुवानीबारे चासो नदेखाएको आरोप उनिहरुको छ।

“गाउँको बीचबाट दिनहुँ ओभरलोड टिपर गुडिरहेका छन्, तर अनुगमन गर्ने कोही छैन,” एक स्थानीयले गुनासो गरे। ठेक्का लगाईदिने तर नियमन र अनुगमनबिना भइरहेको चाँदी नदी दोहनले भविष्यमा ठूलो प्राकृतिक जोखिम निम्त्याउन सक्ने सरोकारवालाहरू बताउँछन्। अत्यधिक उत्खनन् जारी रहे नदीको प्राकृतिक धार परिवर्तन हुन सक्ने, बाढीको जोखिम बढ्ने तथा आसपासका बस्ती सहित करोडौ लागतमा टेकानमा बनेको बसपार्क समेत प्रभावित हुने सम्भावना रहेको भन्दै स्थानीयको चिन्ता छ।

टेकान, गैडाटार लगायतका बासिन्दाहरूले तत्काल अनुगमन, मापदण्ड पालनाको सुनिश्चितता तथा अवैध उत्खनन् नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

टिफर आतंक र नदी उत्खननको बिषयमा  गुनासो उठिरहे पनि चन्द्रपुर नगरपालिका तथा सम्बन्धित नियमनकारी निकायबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। स्थानीय तथा सरोकारवालाहरूले समयमै नियन्त्रण नगरिए नदी दोहनले दीर्घकालीन वातावरणीय संकट निम्त्याउने चेतावनी दिएका छन्।