न्यूज डेस्क | कात्तिक १८, २०८३ बुधबार

सर्लाही । रोजगारीको सुरक्षा, सेवा सुविधाको सुनिश्चितता तथा श्रम अधिकारको माग गर्दै बागमती सिँचाइ आयोजना अन्तर्गत कार्यरत ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।


लामो समयदेखि आयोजना अन्तर्गतका विभिन्न कार्यक्षेत्रमा निरन्तर सेवा दिँदै आएका ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई अन्यायपूर्ण तरिकाले सेवाबाट हटाउन खोजिएको भन्दै विरोध जनाएका हुन् ।



बागमती सिँचाइ आयोजना ज्यालादारी कर्मचारी परिवार, कमैया सर्लाहीले विभिन्न पाँचबुँदे माग अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।



कर्मचारीहरूले दैनिक ज्यालादारी कर्मचारीहरूको उमेर हद खारेज गर्नुपर्ने, २०८३ साल कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्सिङमा सुधार गर्नुपर्ने तथा सिँचाइ विभागको पत्रसहित सिँचाइ मन्त्रालयमा पठाइएको नौ सदस्यीय समितिको सेवा सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, कर्मचारीहरूका लागि घाँसकट खर्च तथा पोशाकको व्यवस्था गर्नुपर्ने, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् ।

कर्मचारीहरूले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार विभिन्न मितिमा कार्यालयमा सवारीसाधन प्रवेशमा रोक लगाउने तथा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

कर्मचारीहरूले आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने बताएका छन् । साथै, आन्दोलनका क्रममा कुनै अप्रिय घटना वा क्षति भएमा त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने भन्दै प्रशासनलाई समेत जानकारी गराएका छन् ।

वर्षौंदेखि आयोजनामा काम गर्दै आएका श्रमिकहरूको रोजगारीको सुरक्षा र न्यूनतम सेवा सुविधाको सुनिश्चितता गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।