प्राइम खबर संबाददाता | भदौ २५, २०७८ शुक्रबार

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज रौतहटको विभिन्न स्थानहरूमा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै मनाइएको छ। 
यसैबीच जिल्लाको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरमा छहारी नेपालले तीज विशेष सांस्कृतिक कार्यक्रम गरी महिला दिदी बहिनीहरूलाई तीजको शुभकामना सहित खुल्ला नृत्य प्रतियोगिता समेतको आयोजना गरी सम्मान गरेको छ । 


हिन्दू धर्ममा तीज लाई विशेष महत्वका साथ हेरिने हुँदा यस दिनमा हिन्दू नारीहरू व्रत बसेर आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै निराहार व्रत बस्ने प्रचलन परापूर्व कालदेखि नै रहिआएको छ । विवाहित महिलाहरूले आफ्नो श्रीमानको निमित्त व्रत बस्ने र अबिवाहित हरुले राम्रो बर पाउ र सुख शान्ति एबम् समृद्धि प्राप्त होस् भनेर व्रत बस्ने प्रचलन रही आएको जानकारहरु बताउँछन् । 
चन्द्रनिगाहपुर स्थित नगरपालिका कार्यालय अगाडि भएको तीज विशेष कार्यक्रममा महिलाहरुको निकै राम्रो सहभागिता रहेको थियो वर्षभरि चुलो चौकोमा व्यस्त नारीहरू सबै दुःख पीडा भुल्दै खुलेर नाचेका थिए । कोरोना कहरका कारण पछिल्लो वर्ष तीज मनाउन र रमाइलो गर्न नपाएका चन्द्रनिगाहपुरका दिदी बहिनीहरू यसपाली भने कोरोना संकट सहज भएपछि सामूहिक रूपमा रमाइलो गर्न पाएको र यो अवसर जुराइदिने महिला नेतृ एबम् छहारी नेपालका अध्यक्ष चिना कोइराला प्रति आभारी रहेको कार्यक्रममा सहभागी रहेका महिलाहरुले बताए । 
पछिल्लो समय तीजको नाममा विकृति समेत मौलाएको र अर्को तर्फ तीजको मौलिकपन बिस्तारै लोप हुन लागेर आधुनिक भड्किलो तीज भित्रिन लाग्नु दुःखद भएको अवस्थामा महिला दिदी बहिनीहरूलाई मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शुभकामना सहितको तीज विशेष कार्यक्रम गरिएको आयोजक चिना कोइरालाको भनाई रहेको छ ।
कार्यक्रममा सहभागी भई आफ्नो नृत्य प्रस्तुत  गर्ने उत्कृष्ठ रहेका विभिन्न उमेर  समूहका प्रतियोगितामा सहभागी  महिलाहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको आयोजक कोइरालाले बताइन् । 
यसैबीच छहारी नेपाल लगायत चन्द्रनिगाहपुरका विभिन्न संघ संस्था एबम् सहकारीहरुले समेत आ आफ्नो किसिमले तीज विशेष कार्यक्रम गरी हरितालिका तीज मनाएका थिए ।