प्राइम खबर संबाददाता | जेठ ५, २०७९ बिहिबार

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार संजय काफले बिजयी भएका छन। उपप्रमुखमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् ।

बैशाख ३० गते भएको स्थानीय तहको मतदानमा चन्द्रपुर नगरपालिकाको नगरप्रमुखका उम्मेदवार संजय काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए । नव निर्वाचित नगर प्रमुख काफ्ले चन्द्रपुर–५ का निवर्तमान वडा अध्यक्ष समेत हुन् । उनीसँग पाँच वर्ष वडामा काम गरेको अनुभव सहित नगर कार्यपालिका चलाएको अनुभव समेत छ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेकी जयमाला चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भएकी छन् । चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् । समग्रमा चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसको राम्रो पकड़ रहेको निर्वाचनको परिणामले देखाएको छ । निर्वाचित जनप्रतिनिधिहरुको संख्याले चन्द्रपुरको नगर सभामा नेपाली कांग्रेसको स्पष्ट बहुमत पुग्ने भएकोछ ।