प्राइम खबर संबाददाता | साउन ११, २०७९ बुधबार

रौतहटको एक सामुदायिक क्याम्पसमा भइरहेको स्नातक तहको परीक्षामा अनियमितताको पराकाष्ठा नै नाघेको छ । परीक्षालाई मर्यादित बनाउन चौतर्फी आवाज उठिरहेको बेला अरूको परीक्षामा परीक्षार्थी बनेर धमाधम परीक्षा दिइरहेका एकजना पक्राऊ परेका छन् । स्नातक दोश्रो बर्षको परीक्षा दिरहेका नक्कली परीक्षार्थी जन ज्योति बहुमुखी क्याम्पस केन्द्रबाट पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा न ६ स्थित रहेको उक्त क्याम्पसमा पछिल्लो समय मर्यादित रुपमा परीक्षा दिने वातावरण समेत नरहेको पूर्व विद्यार्थीहरू बताउँछन् । पक्राउ पर्नेमा जिल्लाको राजदेवि नगरपालिका वडा नम्वर १ बस्ने २० वर्षीय राजन तिवारी रहेका छन् । तिवारीले बीबीएस दोश्रो वर्षको ‘ Fundamental of Financial Management ' बिषयको परीक्षा दिइरहेका थिए ।

पक्राउ परेका तिवारीले यसअघि पनि आफ्नो दाजुको नाममा तीनवटा विषयको परीक्षा दिइसकेको बताए । उनी गौरीशंकर यादव क्याम्पस गौरको नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएका हुन् । सो क्याम्पसको परिक्षा केन्द्र चन्द्रनिगाहपुर स्थित जनज्योति क्याम्पस चन्द्रनिगाहपुर परेको छ । पछिल्लो समय रौतहटका परीक्षा केन्द्रहरूमा व्यापक चोरी चल्ने गरेको र  गेस पेपर र गाइड सँगै परीक्षा केन्द्रमा मोबाइल लैजान समेत खुलमखुल्ला भएपछि व्हाट एप र मेसेन्जर ग्रुपमा एडगरी ग्रुप मार्फत परीक्षार्थीको हातमा उत्तर पुग्ने गरेको समेत रहस्य खुलेको छ । यसबारेमा कुरा गर्दा यो 'रौतहट हो यहाँ सबै सेटिङमा चल्छ’ एक परीक्षार्थीले बताए । परीक्षालाई मर्यादित बनाउन आवाज उठिरहेको बेला सो क्याम्पसले परीक्षा केन्द्र सञ्चालन गर्न असक्षम रहेको गुणस्तरीय शिक्षा भन्दा परीक्षा केन्द्रित भएको आरोप स्थानीय अभिभावकहरुको रहेको छ । पक्राउ परेका तिवारी लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।