न्यूज डेस्क | बैशाख ७, २०८१ शुक्रबार

रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नगरपालिकाको बजेटबाट विकास भन्दा बढी भ्रष्टाचार हुने गरेको गुनासो बढ्दै जान थालेको छ ।
जिल्लाको मौलापुर नगरपालिकामा पाँच बर्ष अघि देखि एकै जना कार्यालय प्रमुख रहीरहेका कारण समेत भ्रष्टाचार बढेको स्थानीयको भनाइ रहेको छ । सो नगरपालिका २०७७ सालदेखि हालसम्म पनि एउटै निमित्त प्रमुख कै भरमा चलेको छ । नगरपालिकामा दोश्रो कार्यकालको निर्बाचित भएर जनप्रतिनिधिहरु आईसकेको बर्षदिन बितिसक्यो तर  प्राबिधिक तर्फका कर्मचारी रामबाबु प्रसाद साह निमित्त हाकिम टसमस भएका छैनन् । रामबाबु साह निमित्त प्रमुख प्रशासकिय अधिकृत कै कारण नगरमा अपेक्षा अनुसारको विकास हुन नसकेको स्थानीय बासिन्दाहरु बताउछन् । उनि निमित्त हाकिम भएदेखि नगरपालिकाको बजेट बितरणमूखि मात्र बन्न पुगेको छ, उनले नगरपालिकालाई अस्तब्यस्त बनाउनुको साथै नगरमा बेरुजुको चाङ माथि चाङ  लागेको छ  ।


नेपाल सरकारले कम्तीमा एक वर्षमा कार्यालय प्रमुख फेर्ने गरेपनि सो नितिलाई मौलापुर नगरपालिकामा पालना नभएको देखिएको छ । कार्यालय प्रमुख रामबाबु साह अघिल्ला जनप्रतिनिधिहरु नै रहेको बेला २०७७÷०७÷२४ गते देखि कार्यरत रहेका छन् । नगरपालिकामा तात्कालिन प्रमुख प्रशासकिय अधिकृत शिबनारायण साहलाई हटाएर  मेयर रीना कुमारी साह निकट मानिने उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । स्थानिय तहको दोश्रो निर्वाचन पछी आएका जनप्रतिनिधिलाई समेत विश्वासमा लिएर सो नगरपालिकामा उनले ब्रम्ह्लुट मच्चाउन सफल भएको स्थानियले बताए ।




निमित्त प्रमुख प्रशासकीय अधिकृत  साहले नगरपालिकामा नै आफ्नो डेरा जमाएर बसेका छन् । कर्मचारी एबम् प्रशासन तर्फ त्यति अनुभब नभएका उनी प्राबिधिक तर्फका कर्मचारी हुन् । आफूले भनेको कुरा मानिहाल्ने र आफ्नो आदेशमा चेक काट्ने भएको कारण मेयर रिना साहले रामबाबुलाई हातमा लिएको नगरपालिका कै जनप्रतिनिधिहरु स्वयम बताउदै आएका छन् । पूर्ब मन्त्री तथा सांसद प्रभु साहको गृहपाालिका समेत रहेको मौलापुरमा उनकै श्रीमति मेयर रहेकी छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीको बिभिन्न कार्यक्रमहरु रैली, धर्ना,जुलुस, नाचगान लगायतका कार्यक्रमहरुको खर्च समेत रामबाबुले नगरपालिकाबाट नै मिलाईदिने गरेका कारण पनि उनी  तल देखी माथि सम्म सेटिङ मिलाएर मौलापुर नगरपालिकामा एकछत्र राज गर्न सफल भएका छन् । जनप्रतिनिधिको समर्थन भन्दा पनि आर्थिक लेनदेनमा प्रमुख भुमिका निभाउदै उनी लामो समय देखी एकै स्थानमा बस्न सफल भएको स्थानीयको भनाइ रहेको छ । 

 उक्त मौलापुर नगरपालिकामा प्रभु साहको निर्देशनबाट चल्ने र कार्यपालिकाको बैठक पनि बिगतमा प्रभु साहकै घरमा बस्ने गरेको स्रोतले जानकारी दिएको छ । समाचार सोतका अनुसार उनले यो कुराको बिरोध गर्दै कार्यालयमा बैठक बस्नुपर्ने माग राखेका थिए । नेता नेताको घर धाउने परिपाटी रोक्नुपर्ने कुरा बैठकमा समेत उठ्दा निरिह बनेका निमित्त हाकिम रामबाबु टुलुटुलु हेरेर बसेको समेत उनले बताए ।  अचम्मको कुरा अझै यो छ कि उक्त पालिकामा झुन्ड्याईएको नेमप्लेट बोर्ड हेर्दा साह थर भएका मात्र प्रशासकिय अधिकृतलाई मात्र ईन्ट्री रहेको र अन्यलाई निष्ोध झै भएको भान हुन्छ । २०७३ साल देखि हालसम्म साह थर बाहेकका अन्य प्रमुख प्रशासकिय अधिकृतले यस पालिकामा पाईला समेत टेक्न पाएका छैनन् ।