प्राइम खबर संबाददाता | असोज १८, २०७९ मंगलबार

यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।
भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । अहिले शुक्र पूर्वतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कन उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।