प्राइम खबर संबाददाता | फागुन २९, २०७७ शनिबार

रौतहटको चन्द्रनिगाहपुर स्थित स्व.शेर बहादुर दर्लामी स्मृती खेलमैदानमा जारी बाल निकेतन कप नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि आयोजक बाल निकेतन माविले उचालेको छ । फागुन २४ गतेबाट शुरु भएको बाल निकेतन कपको तेस्रो संस्करणको उपाधिका लागी शनिबार भएको फाइनल  खेलमा सनसाइन इंग्लिश स्कूल बर्दिबास लाई १—० गोल अन्तरले पराजित गर्दै आयोजक बाल निकेतन विजयी भएको हो । 


बाल निकेतनका लागी निर्णायक गोल जर्सी नम्बर ११  शिव चौलागाईंले गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रहेको खेलको दोस्रो हाफमा बाल निकेतले सन साइन लाई दबाबमा राखेको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको २६ औं मिनेटमा चौलागाईंले  गरेको गोल नै  निर्णायक  गोल बन्न पुगेको हो । 
प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ३० हजारसहित शिल्ड , प्रमाण पत्र तथा मेडल प्राप्त गरेको छ  भने दोस्रो हुने विद्यालय सनसाइन इंग्लिश स्कूलका खेलाडीहरुले नगद १५ हजारसहित शिल्ड , प्रमाण पत्र तथा मेडल प्राप्त गरेका छन । खेलको म्यान अफ दी म्याच बाल निकेतनका रजत पुलामी भएका थिए भने म्यान अफ दी सिरिज पनि बाल निकेतन कै  रोहन घिसिङ घोषित भएका थिए ।


  कार्यक्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाकी उपमेयर राम रति चौधरी तथा संविधानसभा सदस्य रामकुमार भट्टराईले संयुक्त रूपमा विजेता एबम् उप विजेता विद्यालयका खेलाडीहरूलाई  पुरस्कार वितरण गरेका थिए । कार्यक्रमा प्रदेश २ अखिल नेपाल फुटबल संघका अध्यक्ष नेपाल कार्की , प्याब्सनका केन्द्रीय सदस्य केबी थापा, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज लामिछाने, प्याब्सन रौतहटका लोक बहादुर श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 

 

​​