न्यूज डेस्क | जेठ २०, २०८३ बुधबार

रौतहटको वन क्षेत्रमा सोमबार राति भएको भनिएको ‘वन तस्कर आक्रमण’ प्रकरणले नयाँ मोड लिएको छ । डिभिजन वन कार्यालयले सुरुमा काठ तस्करको समूहले वनगस्ती टोलीमाथि आक्रमण गरेको दाबी गरे पनि घटनामा संलग्न भनिएका स्थानीयले भने आफूलाई वनकर्मी नभई लुटेरा समूहले घेरेको ठानेर प्रतिकार गरेको बताएका छन् ।


बुधबार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका–२ मैराका राजकिशोर साहले आफूमाथि अन्यायपूर्वक वन तस्करको आरोप लगाइएको दाबी गरे । उनका अनुसार राति करिब ११ बजे मैराबाट चन्द्रनिगाहपुरस्थित घर फर्किने क्रममा जंगलको बाटोमा केही व्यक्तिले टर्च बालेर मोटरसाइकल रोके । “कहाँबाट आयौ, कहाँ जाँदैछौ भनेर सोधे । मैले सबै जानकारी दिएँ। त्यसपछि तिमी काठ तस्कर हौ भन्दै थर्काउन थाले,” साहले भने, “उनीहरूले आफू वनकर्मी भएको स्पष्ट परिचय दिएनन्, कसैले वर्दी पनि लगाएको थिएन । गाडीसमेत नदेखेपछि म झन् सशंकित भएँ ।”



वैशाख १ गते मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका साहले त्यसबेला घाँटीमा सुनको सिक्री, हातमा ब्रासलेट र औंठी लगाएका थिए । “मलाई लुट्न खोजिएको हो कि भन्ने डर लाग्यो,” उनले भने । साहका अनुसार आफू भाग्न खोज्दा मोटरसाइकल रोक्ने प्रयास गरियो । मेरो मोटरसाइकल लडेपछि भाइजर फुट्यो । त्यतिबेलासम्म पनि आफूलाई रोक्ने व्यक्ति सरकारी कर्मचारी हुन् भन्ने थाहा भएनन् ।



उनले गाउँमा फोन गरेर सहयोग मागे । घटनास्थलमा गाउँबाट दुई जना पुगेपछि अवस्था थप तनावपूर्ण बन्यो । मोटरसाइकलको चाबी फिर्ता नदिएको विषयलाई लिएर दुवै पक्षबीच हात हालाहाल भएको साहको भनाइ छ । झडपमा दुवै पक्षका व्यक्ति घाइते भएका छन् । साह स्वयंको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । घटनालाई लिएर अर्को पक्षको दाबी भने फरक छ ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर र रंगपुर साझेदारी वनको संयुक्त टोलीले काठ चोरी भइरहेको सूचनाका आधारमा वन क्षेत्रमा गस्ती गरिरहेको बेला आफूमाथि आक्रमण भएको जनाएको छ । झडपमा सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रंगपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडी चालक अरविन्द पटेल घाइते भएका छन् ।

तर घटनालाई सुरुमा प्रचार गरिएजस्तो ‘वन तस्करको संगठित आक्रमण’ भन्न सकिने अवस्था नरहेको संकेत स्वयं डिभिजन वन कार्यालयले दिएको छ । कार्यालय प्रमुख हेमन्त प्रसाद साहले वन कर्मचारीमाथि आक्रमण भएको पुष्टि गर्दै घटनामा संलग्न व्यक्ति वन तस्कर नै हुन् भन्ने ठोस प्रमाण हालसम्म फेला नपरेको बताए ।

उनले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गरिएको जानकारी दिए । यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय राजकिशोर साहले पनि आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरिरहेको बताएका छन् ।

रक्सीको नशामा टिल्ल भएर वन तस्कर खोज्न निस्किएको  बनटोली र घर फर्किंदै गरेका स्थानीयबीचको यो झडप वास्तवमा गलत पहिचानको परिणाम हो कि अधिकारको दुरुपयोग ? अनुसन्धानपछि मात्रै वास्तविकता बाहिरिनेछ । तर एउटा प्रश्न भने अहिले नै उठेको छ— यदि वनकर्मीहरू परिचय खुल्ने वर्दी र सरकारी प्रक्रिया अनुसार खटिएका थिए भने स्थानीयले उनीहरूलाई लुटेरा किन ठाने ?