न्यूज डेस्क | जेठ २०, २०८३ बुधबार
पर्यटन विकास कार्यालय रौतहटकी कार्यालय प्रमुख बबिता जैसवालले आफू पूर्ण रूपमा नीति, नियम र कानुनी परिधिभित्र रहेर कार्यसम्पादन गरिरहेको स्पष्ट पारेकी छन्। केही समयदेखि कार्यालयका गतिविधि र योजनाहरूलाई लिएर भइरहेका विभिन्न चर्चा परिचर्चाका बीच प्रमुख जैसवालले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
प्रमुख जैसवालले आफू यस कार्यालयमा हाजिर भएदेखि नै रौतहट र सर्लाही जिल्लाको पर्यटन पूर्वाधार निर्माणका लागि मन्त्रालयबाट प्राप्त निर्देशन, बजेट र स्वीकृत आदेश बमोजिम आफ्नो भूमिकालाई निकै इमानदारिताका साथ निर्वाह गरिरहेको बताएकी हुन्।
कार्यालय प्रमुख जैसवालका अनुसार रौतहट र सर्लाही जिल्लामा सञ्चालित पर्यटन सम्बन्धी पूर्वाधार विकासका योजनाहरूलाई गति दिन कार्यालय प्रशासन अहोरात्र खटिएको छ। मन्त्रालयबाट स्वीकृत भई आएका योजना र कार्यक्रमहरूलाई कतिपय प्राविधिक तथा प्रशासनिक चुनौतीका बाबजुद पनि नियमसंगत ढंगले कार्यान्वयन भइरहेको उनले दाबी गरिन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख जैसवालले भनिन्: "हामी सरकारी नीति, नियम र परिधिभन्दा बाहिर गएर एक कदम पनि चल्न सक्दैनौँ। मन्त्रालयले जुन उद्देश्य र आदेशका साथ बजेट तथा योजनाहरू पठाएको छ, त्यसैलाई नागरिकको हित र पर्यटन विकासमा सदुपयोग गर्नु हाम्रो मुख्य जिम्मेवारी हो। यसमा कुनै पनि किसिमको सम्झौता भएको छैन र हुने छैन।"
पर्यटन विकास कार्यालय रौतहटको कार्यक्षेत्रभित्र रौतहट र सर्लाही दुवै जिल्ला पर्ने भएकाले दुवै क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार विकासमा सन्तुलित रूपमा काम अगाडि बढिरहेको कार्यालयले जनाएको छ। विकास निर्माणका कामहरूमा पारदर्शिता र गुणस्तर कायम गर्न आफूले नियमित अनुगमन र समन्वय गरिरहेको समेत प्रमुख जैसवालले उल्लेख गरिन्।
उनले पूर्वाधार निर्माणका कार्यहरूलाई अझ प्रभावकारी र जनमुखी बनाउन स्थानीय जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला निकायहरूसँग सहकार्य र रचनात्मक सुझावको अपेक्षा समेत गरेकी छन्