प्राइम खबर संबाददाता | भदौ २८, २०८० बिहिबार

धादिङ स्थित त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ४ घर भई हाल काभ्रेस्थली बस्दै आएकी ३६ वर्षीय देवकुमारी गुरुङले आफ्नो उपचारका लागि सहयोगको आग्रह गरेकी छिन् । एक सन्तानकी आमा समेत रहेकी गुरुङ ४ वर्षदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि कष्टपूर्ण जीवन बिताउँदै आएकी छिन् । उनको आर्थिक अवस्था समेत निकै कमजोर हुँदा उपचार गर्न समेत निकै कठिनाई भोग्नु परेको उनको पारिवारिक स्रोतले बताएको छ ।


“अलि अलि भएको जेथा समेत उनको उपचारमा सकियो, सन्तानको पढाइ लेखाइको त कुरै छोडौ बिरामी आमाको स्याहार सुसार र उपचारमा नै छोराको दिन व्यतीत हुने गरेको छ” गुरुङकी बहिनी संगीता बताउँछिन् । हाल काठमाडौं गोंगबु स्थित नेशनल किड्नी अस्पताल प्रा. ली.मा उपचाररत गुरुङ को अवस्था हेर्दा जो कोहीको आँखा रसाएर आँखाबाट आँसुका थोपा खस्छन् । उनलाई खानपिन गर्नसमेत अरूको सहायता चाहिन्छ । पछिल्लो समय शारीरिक रूपमा अशक्त भई बिरामी हुँदा आफूलाई जीवन बोझ लागेको समेत उनी सुनाउँछिन् ।



‘उपचार खर्च थेग्न नसक्ने अवस्था रहेको छ सातामा तीन पटक सम्म डाईलासिस गर्नु परेको छ । एक पटकको डाईलासिस् गर्न जाँदा खर्च ६ हजार सम्म पर्न जान्छ थेग्न सक्ने अवस्था छैन ।“ उनले दुखेसो गरेकी छिन् । श्रीमानले कमाएको समेत सम्पूर्ण रकम मेरो उपचारमा खर्च भइसक्यो, अहिले सम्म कुनै निकायबाट आर्थिक सहयोग पाएको छैन ।“ उनले बताइन् । उनकी बहिनी संगितका अनुसार “७ वर्षअघि अचानक शारीरिक समस्या देखियो,’ उनले भनिन् ‘ मृगौलाको समस्या रहेछ सामान्य औषधि उपचार गरियो तर पछि मृगौला नै फेल भएपछि दिदी थला पर्नु भएको हो ।“ हामीले गर्न सक्नेसम्म उपचार गरायौँ, तर निको भएन ।’ दिदीको उपचारका लागि सयौँ मानिस र संघसंस्थालाई गुहारे पनि कतैबाट सहयोग नपाएको गुनासो उनले गरिन् ।



पछिल्लो समय मृगौला, क्यान्सर लगायतको रोगमा सरकारले सुविधा उपलब्ध गराएको भएतापनि औषधि महँगो भएको र उपचारमा लाग्ने अन्य खर्चहरु जुटाउन सकस उनलाई परेको छ। उनलाई सहयोग गर्न चाहने सहयोगी मनहरुलाई उनले बैंक खाता मार्फत सहयोग गरिदिन अनुरोध समेत गरेकी छिन्। उनलाई सहयोग गर्न कुमारी बैंक लिमिटेडमा संगीता गुरुङको नाममा रहेको खाता नंबर 1360115062100001 मार्फत सहयोग गर्न सकिने छ ।