प्राइम खबर संबाददाता | भदौ २९, २०८० शुक्रबार

 साबिकको विजेता श्रीलंकाले एसिसि एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै फाइनलमा स्थान बनाएको छ ।


श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो ।



श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।



चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए  । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउदै थिए ।  
त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याए ।

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट आफ्नो नाममा गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो । 

डकवर्थ लुईस पद्दती अनुसार श्रीलंकाले २ सय ५२ रनकै लक्ष्य पाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले । मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए । शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।

ईफ्तिखार अहमदले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए । साबिकको विजेता श्रीलंकाले आईतबार भारतसॅंग उपाधीको लागि खेल्ने छ ।