प्राइम खबर संबाददाता | असोज १७, २०८० बुधबार

रौतहट गढीमाई नगरपालिका वडा नं.७ को कार्यालयमा स्थानीयले तलाबन्दी गरेका छन् ।  वडा अध्यक्ष टपेन्द्र यादवले कार्यवाहक नै नदिएर विदेश गएका कारण काम अवरुद्ध भएको भन्दै आक्रोशित स्थानीय जनताले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 
वडा अध्यक्ष  यादव उपचार गराउन भनि भारतको नयाँ दिल्ली गएका कारण वडा अध्यक्षबाट हुने सिफारिस, चार किला प्रमाणित, घरजग्गा मूल्यांकन लगायतका काम रोकिएको वडा सचिव जितेन्द्र यादवले बताए । वडा सचिवले गर्ने पञ्जिका सम्बन्धी काम भने भइरहेको वडा सचिव यादवले बताए । 
वडा अध्यक्ष यादवले बिना कुनै सूचना वा जानकारी नै नगराइ पछिलो एक हप्तादेखि जनताको काम अवरुद्घ गरी उपचारको बहानामा भारत गएकाले स्थानीय जनताले आक्रोशित भइ तलाबन्दी गरेको नेकपा माओवादी केन्द्रका स्थानीय नेता मेराजुल अन्सारीले बताए  ।  वडा अध्यक्ष यादवले यसरी लामो समयका लागि बाहिर जाँदा नियमानुसार कुनै वा वरिष्ठ वडा सदस्यलाई  कार्यवाहक वडा अध्यक्ष दिनुपर्ने हो भन्दै नदिएकोमा नेता अन्सारीले दुःख व्यक्त समेत गरे । 
वडा अध्यक्ष यादव आफ्नो व्यक्तिगत कामले वा नगरपालिकाको सहकार्यमा हुने तालिम, गोष्ठी,सेमिनारमा पटक–पटक कयौं पटक  जिल्ला  बाहिर जाँदा कार्यवाहक दिने नगरेको वडा सदस्य मदन राय यादवले बताए । 
वडा कार्यालयमा वडा अध्यक्ष नरहेकाले स्थानीय वडावासीको कामकागजमा समस्या परेको बेला आफुहरुले नियमानुसार सिमित समयको लागि पनि कलम चलाउने अधिकार नपाउँदा ज्यादै दुःख लागेको वडा सदस्य मदन राय यादवले गुनासो गरे ।
यसबारेमा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले कार्वाहक वडा अध्यक्षले कार्यवाहक नतोकेर कमिकमजोरी गरेको बताए । वडा अध्यक्ष यादवले गरेको कमिकमजोरीका कारण स्थानीय जनताले आफूसँग सिफारिस गराएर गएको बताए । ‘वडा नम्बर ७ को वडा अध्यक्षको कारण वडा अध्यक्षको काम मैले गर्नुपरेको छ’ नगर प्रमुख यादवले भने । अब हुने कार्यपालिका बैठकमा जिल्ला बाहिर जाँदा अनिवार्य रुपमा कार्यवाहक तोक्ने एजेण्डा नै पास गर्ने उनले बताए ।