न्यूज डेस्क | बैशाख २५, २०८३ शुक्रबार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित थप भ्रष्टाचार आरोपमा पूर्व अर्थमन्त्रीसहित उच्च पदस्थ अधिकारी र विदेशी कम्पनीका प्रतिनिधिहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
ठेक्का सम्झौतामा तोकिएको व्यवस्था विपरीत ठेकेदार कम्पनीलाई कर तथा राजस्व छुट दिई राज्यलाई हानी पुर्याइएको दाबीसहित मुद्दा अघि बढाइएको छ । अख्तियारले कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
मुद्दामा अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य र डण्डुराज घिमिरे, पूर्व सचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्याल पनि प्रतिवादी रहेका छन् ।
त्यसैगरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड का अध्यक्ष, परियोजना व्यवस्थापक र कम्पनीका म्यानेजरलाई समेत मुद्दामा समेटिएको छ ।
अख्तियारले यसअघि २१ मंसिरमा पाँच पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरेको थियो भने ८ चैतमा पनि पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अर्को प्रकरणमा छुट्टै मुद्दा दायर गरेको थियो । आज दायर गरिएको मुद्दा यस श्रृंखलाको तेस्रो चरणको कारबाही भएको बताइएको छ ।