प्राइम खबर संबाददाता | असोज ३०, २०८० मंगलबार

रौतहटको मौलापुर नगरपालिकाको नगर प्रमुखको पद रिक्त भएको छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुख पदमा निर्वाचित रिना कुमारी साह पदमुक्त भएको निर्वाचनमा आयोगले जनाएको छ ।


निर्वाचन आयोगले एक सूचना निकाल्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना जारी गर्दै उल्लेख गरेको छ ।
निवर्तमान नगर प्रमुख साह आम जनता पार्टीमा सक्रिय रूपले लागि परेकी थिइन् । उनी आम जनता पार्टीका अध्यक्ष प्रभु सहकी श्रीमती हुन् ।