प्राइम खबर संबाददाता | माघ २६, २०८० शुक्रबार

रौतहट स्थित जनज्योति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा ११ औं जनज्योति प्रिमियर लिग सुरु भएको छ। 

क्याम्पसले विगतका वर्षहरुमा झै यसपटक पनि प्रिमियर लिगको आयोजनाको नयाँ संस्करण थालनी गरेको कार्यक्रम संयोजक मो. नौसाद आलमले बताए । 



शुक्रबारबाट सुरु भएको उक्त क्रिकेट प्रतियोगितामा ८ वटा अन्तर संकायका टीम रहेका छन । जसमध्ये जनज्योति बहुमुखी क्याम्पसको चार वटा र जन ज्योति नमूना माध्यमिक विद्यालयको चार वटा टिम रहेका छन । टीमले लिग प्रतियोगितामा प्राप्त अंकका आधारले नकाउट चरणमा प्रवेश पाउनेछन् । उक्त जन ज्योति प्रिमियर लिग तीन दिनसम्म चल्ने आयोजक स्ववियुले बताएको छ। 

चन्द्रपुर ६ स्थित रहेको चिम्नी घाँसे मैदानमा भएको लिगको उद्घाटन कार्यक्रममा क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष सञ्जय कार्की, क्याम्पस प्रमुख प्रमुख राजन श्रेष्ठ, स्ववियु सभापति संगम श्रेष्ठ, सचिव नौसाद आलम, प्राध्यापकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको संयोजक आलमले बताए। 

आज भएको पहिलो खेलमा स्नातक पहिलो वर्ष र तेस्रो बर्षविचको खेलमा तेस्रो वर्षले पहिलो वर्षको टिमलाई हराउँदै जीत हासिल गरेको थियो भने दोस्रो खेल जन ज्योति नमूना माविको कक्षा ११ र १२ बीचको खेलमा कक्षा ११ ले १०७ रन जोडेर जीत निकाल्न सफल भएको थियो।