न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

रौतहट  जिल्ला क्रिकेट संघको आयोजनामा फागुन २६ गतेदेखि शुरू हुन लागेको क्रिकेट प्रतियोगिताको कप सार्वजनिक गरिएको छ ।गौर राइस मिलमा हुने प्रतियोगिताको उद्घाटन नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष  माधव कुमार नेपालले गर्ने रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लाका १८ पालिकाका टिम सहभागी हुने बताउँदै कोषाध्यक्ष नेपालले प्रतियोगितामा ४३ वटा खेल हुने बताए । प्रतियोगितामा सहभागी भएका १८ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ए मा गौर नगरपालिका, मौलापुर नगरपालिका र गुजरा नगरपालिका, समूह बी मा गरुडा नगरपालिका, फतुवा बिजयपुर नगरपालिका र माधव नारायण नगरपालिका रहेका छन् ।समूह सी मा यमुनामाई गाउँपालिका, परोहा नगरपालिका र बृन्दावन नगरपालिका, समूह डी मा गढीमाई नगरपालिका, राजदेवी नगरपालिका र बौधिमाई नगरपालिका, समूह ई मा चन्द्रपुर नगरपालिका, देवाही गोनाही नगरपालिका र दुर्गा भगवती गाउँपालिका तथा समूह एफमा कटहरिया नगरपालिका, राजपुर नगरपालिका तथा ईशनाथ नगरपालिका रहेको आयोजकले जनाएको छ । करिब ६५ लाखको लागत लाग्ने क्रिकेट प्रतियोगिताको विजेता टिमलाई शिल्डसहित नगद ३ लाख तथा उपविजेता टिमलाई शिल्डसहित नगद १ लाख ५० हजार पुरस्कार दिइने संघका कोषाध्यक्ष तथा प्रतियोगिताका संयोजक नेपालले  बताए ।