न्यूज डेस्क | बैशाख ६, २०८१ बिहिबार

अर्जुन तिमल्सिना,

रौतहट। जान्नेलाई छान्ने भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी रौतहटको आलोचना यतिबेला तीब्र रूपले हुँदै गएको छ । सो पार्टीको आडमा आफ्नो राजनीतिक रोटी सेक्ने दाउमा लागि परेका छन् रौतहट क्षेत्र नं ३ अन्तर्गत पर्ने गुजरा नगरपालिकाका रास्वापा नेता सेख बद्रुदिन अरमान । 
उनी विगतमा नेकपा माओवादी हुँदै तत्कालीन बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, संघीय समाजबादी, जनता समाजवादी पार्टी, नेकपा एमाले हुँदै हाल आफू रास्वपाको हर्ताकर्ता नेता बताउँदै आएका छन् । सभापति रवि लामिछाने गृह मंत्री भएपछि आफू गृहमन्त्री निकटको मान्छे भएको बताउँदै आएका उनको चुरीफुरी बढ्दै गएको गुजराका स्थानीयहरू बताउँछन् । आफ्नो श्रीमतीलाई विभिन्न पार्टीको आडमा भएपनि विभिन्न लाभको पदमा दिलाउन सफल नेताको रूपमा परिचित छन् । २०७४ सालको निर्वाचनमा नगरमा जनता समाजवादी पार्टीको आकर्षण बढ्दो देखिपछि उनकी श्रीमती रौशन शेख लाई जसपा प्रवेश गराएर उपप्रमुख पद हात पार्न सफल भएका थिए।  




उपप्रमुख हुँदा खासै कुनै काम गर्न नसकेको र पटक पटक विवादमा पर्दै आएका हुँदा २०७९ को निर्वाचनमा उनले पराजय भोगिन । श्रीमती उपमेयर भएपनि उनको श्रीमान बद्रुदिनले नगर चलाउने गरेको आरोप लाग्दै आएको थियो । बद्रुदिन् व्यापारिक पृष्ठभूमिबाट आएका कारण उनलाई राजनीतिक सिद्दान्त भन्दा पार्टीमा लाग्दा घाटा नाफा हेरेर मौसम अनुसारको पार्टी परिवर्तन गर्नेमा माहिर नै मानिन्छन् । उनले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन् । त्यति मात्र होइन उनले आफ्नो श्रीमती रौशन शेख लाई गुजरा नगर कमिटीको सभापति समेत बनाइसकेका छन् । आफ्नी श्रीमती लाई ८४ सालको निर्वाचनमा नगरपालिकाको उपमेयर पदमा उठाउने उनको उदेश्य रहेको छ।  आफू मेयरको टिकट ल्याउने र श्रीमतीलाई उप मेयरको टिकट हात पार्न रास्वपाको साथ लागेका देखिन्छन् । यद्यपि उनको श्रीमतीलाई रास्वापाबाट टिकट नपाउने अवस्था आए सिके राउत नेतृत्वको जनमतमा जाने उनको योजना रहेको श्रोतको दावी रहेको छ । आफूले नपाउँदा श्रीमतीलाई अगाडि सार्ने रणनीति उनको रहेको देखिन्छ ।
पछिल्लो समय रास्वापको केन्दीय नेता र मन्त्रीहरुको दैलो दौडमा लागेका उनले केही दिन अघि मात्र शिक्षा मन्त्री सुमना श्रेष्ठलाई घण्टी अंकित झुम्का उपहार समेत दिएका छन् । “ पार्टीमा अरमानजीको परिवारवाद मोहले पार्टी नै सकिने अवस्था आएको छ, भर्खरै जन्मेको पार्टीमा यो समस्या आउँदा पार्टीको भविष्य के होला भन्ने चिन्ताले सताएको छ” रास्वापा रौतहटका एक नेताले बताए । स्रोतका अनुसार उनी जिल्लाको नेतृत्व हात पार्न चाहान्छन तर अरू पार्टीमा जस्तै नेताको सरण परेर पद हात लाग्ने अवस्था देखिँदैन निर्वाचनको प्रकियबाट नेतृत्व चयन हुने रस्वापामा उनको लागि कठिन हुने देखिन्छ ।


पार्टीको तर्फबाट  नेताको परिवार सदस्य नभई मौका पाइँदैन भन्ने विश्वास बढ्न थाल्यो भने त्यसले कालान्तरमा नकारात्मक प्रभाव पर्छ। माओवादी अध्यक्ष प्रचण्ड की छोरी रेणु दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, मधेस प्रदेश मुख्य मन्त्री लालबहादुर राउत पत्नी जलेखा खातुन लगायतको उम्मेदवारीलाई लिएर आलोचनाका स्वर विगतमा पनि नसुनिएका होइनन सुनिएका छन्। आखिर नेताले परिवारलाई नै किन प्राथमिकतामा राखे । तर अरू भन्दा फरक धारको राजनीतिको वकालत गर्दै आएको र जान्नेलाई छान्ने भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा पनि अवस्था उस्तै विकराल बन्दै गएको भन्ने उदाहरण रौतहट क्षेत्र नम्बर ३ लाई हेर्न सकिन्छ ।  प्रश्न गम्भीर छ।
नेताहरूले सम्भव भएसम्म यस्तो परिस्थिति आउन दिनुहुँदैन। नेताका परिवारको संघर्षलाई अवसरमा साट्दा परिस्थिति नकारात्मक बन्छ। नेताको परिवारमा नपर्ने बित्तिकै अवसरबाट वञ्चित भइन्छ भन्ने अवस्थामा कसैलाई पुर्‍याउनु हुँदैन। नातावाद मात्र होइन, अन्य दलबाट आउने बित्तिकै ठूलो अवसर पाउने अवस्थाले पनि पहिलेदेखि संघर्ष गरिरहेका नेता तथा कार्यकर्तालाई विरक्त बनाउन सक्छ।
यो अवस्था विशेष गरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रौतहटमा देखिएको छ। अहिले अन्य दल छाडेर आउने व्यक्तिलाई सबैजसो दलले मौका दिइरहेका छन्। वास्तवमा दलभित्रको मूल्यांकन पद्धतिलाई बलियो बनाउँदै नेतृत्व विकासलाई प्रोत्साहन गर्न सक्नुपर्छ भन्ने आवाज उठ्दै आएको छ।
प्रत्येक एकाइमा काम गर्ने व्यक्तिको क्षमताका आधारमा विकास गर्दै राष्ट्रिय जिम्मेवारीसम्म पुग्ने बाटो खोल्नुपर्छ। यसो भयो भने मात्र कडा परिश्रम गरेर जिम्मेवारीमा पुग्ने बानी लाग्छ। अहिलेको जस्तो नेता खुसी पारेर जिम्मेवारी पाउने अवस्था आउनु भनेको कतै नपुगिने बाटो हो। नातावादको दलदलबाट नेताहरू जोगिनु उचित हुन्छ। रौतहटको रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिएको हुनुपर्ने हो तर यसो भएको देखिन्न यसले पार्टीमा ठूलो असर पार्ने देखिन्छ ।

​​​​​​