न्यूज डेस्क | जेठ ६, २०८१ आइतबार

इन्डियन प्रिमियर लिग ९आईपीएल० को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य हैदराबादले ६ विकेटको क्षतिमा ५ बल अगावै पछ्यायो । विशाल योगफल पछ्याउने क्रममा अभिषेक शर्माले विस्फोटक इनिङ्स खेल्दै २८ बलमा ६६ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र ६ छक्का हिर्काए । 


हेनरिच क्लासनले पनि २६ बलमा ४२ रन जोडे । त्यस्तै, राहुल त्रिपाठीले १८ बलमा ३३ रन तथा नितिश कुमार रेड्डीले २५ बलमा ३७ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेले २–२ विकेट लिए भने हरप्रित ब्रार र शशांक सिंहले १–१ विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ गरेको पञ्जाबले प्रभसिमरन सिंहको शानदार अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो । सिंहले मात्र ४५ बलमा ७ चौका र ४ छक्का हिर्काए ।



उनले ओपनर अथर्व ताइडेसँग मिलेर ९७ रनको साझेदारी गरे । अथर्वले २७ बलमा ४६ रन जोडे । त्यस्तै, राइली रुसोले २४ बलमा ४९ रन तथा कप्तान जितेश शर्माले १५ बलमा ३२ रनको योगदान दिए । हैदराबादका लागि टी नटराजनले २ तथा प्याट कमिन्स र विजयकान्त वियासकान्तले १–१ विकेट लिए । जितपछि हैदराबाद १४ खेलबाट १७ अङ्क बटुल्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।