न्यूज डेस्क | जेठ १९, २०८३ मंगलबार
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, सुरक्षा, वातावरणीय तथा संस्थागत संरचनासम्बन्धी चार वटा निर्णयहरू गरेको छ।
बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई क्षति पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसँग सम्बन्धित मन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौतालाई स्वीकृति प्रदान गरेको छ।
यस निर्णयले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि बैठकले अनुमोदन गरेको छ।
सुरक्षा क्षेत्रसँग सम्बन्धित अर्को निर्णयमा २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रका विषयमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यविधि थप गर्ने निर्णय गरिएको छ। सो समितिलाई थप ४५ दिनको समय प्रदान गरिएको हो।
यसैगरी भूमि समस्या समाधानसम्बन्धी संरचनामा पनि नयाँ नियुक्ति गरिएको छ। निर्णयअनुसार समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन् भने सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती तथा काठमाडौँकी डा. रोहना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।