न्यूज डेस्क | जेठ २०, २०८३ बुधबार

रौतहट,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बृन्दावन नगर समितिको अधिवेशन तथा नगर सभापति चयन प्रक्रियालाई लिएर पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ। नगर समितिका बहुमत सदस्यहरूले सभापति चयन प्रक्रियामा गम्भीर अनियमितता, अलोकतान्त्रिक हस्तक्षेप तथा पार्टी विधानको उल्लङ्घन भएको आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन्।


मंगलबार जारी गरिएको विज्ञप्तिमा बहुमत सदस्यहरूले हालै सम्पन्न नगर सभापति चयन प्रक्रिया पार्टीको विधान, लोकतान्त्रिक अभ्यास र सदस्यहरूको अधिकार विपरीत भएको दाबी गरेका छन्। उनीहरूले पार्टीका अधिकांश सदस्यलाई कुनै जानकारी नदिई, छलफल र परामर्शबिना केही सीमित व्यक्तिहरूको निर्णयका आधारमा समिति गठन गरिएको आरोप लगाएका छन्।



विज्ञप्ति अनुसार रौतहट जिल्ला सभापति प्रदीप साह, मधेश प्रदेश प्रवक्ता एवं निर्वाचन समितिका संयोजक राजीव राम र संगठन विभागका केन्द्रीय सदस्य उदय नारायण सापकोटाको संलग्नतामा चन्द्रपुरस्थित एक होटलमा गोप्य ढंगले नगर समिति चयन गरिएको दाबी गरिएको छ। उक्त प्रक्रिया पूर्ण रूपमा एकल निर्णयमा आधारित, अपारदर्शी तथा पार्टी विधानविपरीत रहेको उनीहरूको भनाइ छ।



विज्ञप्तिमा भनिएको छ, “नगर सभापति चयन जस्तो महत्वपूर्ण विषयमा सदस्यहरूको राय, मत र सहमति बिना निर्णय गर्न मिल्दैन। केही व्यक्तिको स्वार्थ र प्रभावमा गरिएको यस्तो निर्णयले पार्टीभित्र गुटबन्दी, असन्तुष्टि र विभाजन निम्त्याउने खतरा बढाएको छ।”

बहुमत सदस्यहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक रूपमा लोकतन्त्र, पारदर्शिता र युवा सहभागिताको वकालत गर्दै आए पनि व्यवहारमा त्यही मूल्य र मान्यतालाई पालना गर्न नसकेको आरोप लगाएका छन्। पार्टीभित्रै लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको भन्दै उनीहरूले नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

बहुमत सदस्यका मुख्य माग

विज्ञप्तिमार्फत बृन्दावन नगर समितिका असन्तुष्ट सदस्यहरूले तीन बुँदे माग अघि सारेका छन्।

विवादित र अलोकतान्त्रिक रूपमा गरिएको सभापति चयन प्रक्रिया तत्काल खारेज गरियोस्।
पार्टी विधानअनुसार सम्पूर्ण सदस्यहरूको सहभागितामा नयाँ निर्वाचन वा चयन प्रक्रिया सञ्चालन गरियोस्।
पार्टीको केन्द्रीय नेतृत्वले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरोस् तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता प्रदान गरोस्।

उनीहरूले आफूहरू पार्टीको सिद्धान्त, लोकतान्त्रिक मूल्य र सदस्यहरूको अधिकारको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै माग सम्बोधन नभए थप आन्दोलनात्मक कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

जिल्ला नेतृत्वमाथि बढ्दो असन्तुष्टि

बृन्दावन नगर समितिको विवादसँगै रास्वपा रौतहटको जिल्ला नेतृत्वमाथि समेत प्रश्न उठ्न थालेको छ। पार्टीभित्रका केही नेता तथा कार्यकर्ताहरूले जिल्ला सभापति प्रदीप साहको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको बताइएको छ।

पार्टीभित्र व्यापारीकरण हाबी भएको, संगठन निर्माणभन्दा व्यक्तिगत स्वार्थ र समूहगत प्रभावलाई प्राथमिकता दिइएको तथा निर्णय प्रक्रियामा कार्यकर्ताको सहभागिता कमजोर बनाइएको आरोप जिल्ला नेतृत्वमाथि लाग्दै आएको छ। रौतहटका विभिन्न स्थानीय तहमा देखिएका पछिल्ला विवादहरू—विशेषगरी ईशनाथ नगरपालिका, बौधीमाई नगरपालिका र पछिल्लो बृन्दावन नगर समितिको घटनाले नेतृत्वको कार्यशैलीमाथि थप प्रश्न खडा गरेको असन्तुष्ट पक्षको दाबी छ।

रौतहटका धेरै नेता तथा कार्यकर्ताहरूले जिल्ला सभापति प्रदीप साहको विकल्प खोज्नुपर्ने आवाज उठाइरहेका बेला बृन्दावन नगर समितिको विवादले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

नेतृत्वको प्रतिक्रिया आउन बाँकी

यस विषयमा जिल्ला सभापति प्रदीप साह, संगठन विभागका केन्द्रीय सदस्य उदय नारायण सापकोटा तथा सम्बन्धित पक्षहरूको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। 

बृन्दावन नगर समितिको विवादले रौतहटमा संगठन विस्तारको चरणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक लोकतन्त्र, नेतृत्वको जवाफदेहिता र संगठनात्मक प्रक्रियाको पारदर्शिताबारे गम्भीर बहस सुरु गराएको छ। अब पार्टीको केन्द्रीय नेतृत्वले यस विषयलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले रौतहटमा रास्वपाको आगामी संगठनात्मक भविष्य निर्धारण गर्ने देखिएको छ।