प्राइम खबर संबाददाता | फागुन १८, २०७८ बुधबार

बुधबार राजदूतावासले आयोजना गरेको सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ को उद्घाटन भएको छ । उक्त उद्घाटन समारोहको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए । नौ दिनसम्म चल्ने प्रतियोगितामा १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्न  दूतावासले गरेको  पहलको प्रशंसा समेत गरेका छन् । उनले दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको भुमिका महत्वपूर्ण रहेको बताए ।  मन्तव्यकै क्रममा पाकिस्तानी राजदूत सैयद हैदर शाहले कोभिडको यस समयमा स्पोट्स र बाहिरी गतिविधिको महत्व झनै बढेको बताए । उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने संकेत गरेको बताएका छन्  । उनले नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको समेत बताए । उनले यस कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने जिकिर गरेका छन्  । राजदूत शाहले मेयर र नेपाल सरकारलाई समेत यस किसिमको कार्यक्रमको आयोजनामा ​​सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।