सन्तोष काफ्ले | चैत २८, २०७८ सोमबार

रौतहटको  चन्द्रपुर नगरपालिकाका नगरप्रमुखले निर्वाचन अचारसंहिताको पालना गर्दै  आफूले चढ्ने गाडी फिर्ता गरेका छन् ।

स्थानीय निर्वाचन २०७४ को चुनावमा नगर प्रमुख पदमा बिजयी भएका चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले आफू नगर प्रमुखको हैसियतमा चढ्दै आएको जिप कम्पास गाडी सोमबार नगरपालिकालाई  हस्तान्तरण गरेका छन्  ।

निर्वाचन आचारसंहिता लागु भएको हुदाँ आफुले प्रयोग गर्दै आएको प्रदेश -३- ०१ - ००२ झ ४९५९ नम्बरको गाडीको साँचो नगरपालिकाका अधिकृत राजेश सागरमार्फत  नगरपालिका कार्यालयलाई सुम्पिएको नगरप्रमुख चौधरीले बताए ।  सोमबार कार्यालय समयमा नगरपालिका कार्यालय पुगेर हस्तान्तरण गरेका मेयर चौधरीले सेतो प्लेटको उक्त गाडीलाई  नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि प्रयोग गर्न फिर्ता गरिएको बताएका छन् । दुई दिन अघि नै फिर्ता गर्ने आफ्नो ईच्छा भएको भएतापनि यस अघि शनिबार र रामनवमीको सार्बजनिक बिदा परेको कारण आज कार्यालय खुलेको हुदाँ कर्मचारी मार्फत सो सवारी फिर्ता गरेको मेयर चौधरीले बताए । 

स्थानीय निर्वाचन २०७८ को आचार संहिता लागेसँगै जनप्रतिनिधिहरुले लिने सेवा सुविधामा रोक लाग्ने भएको कुराको ख्याल राख्दै चन्द्रपुरका मेयर चौधरीले नैतिकता देखाई आफूले प्रयोग गर्दैआईरहेको सबारी फिर्ता गरेर राजनितिक संस्कार देखाएको स्थानिय उदय नारायण सापकोटा सुरेन्द्रले बताए । जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले चढ्दै आएको सबारी सम्बन्धिित पालिकालाई बुझाउन आनाकानी गरीरहेको अबस्थामा चन्द्रपुरका मेयर चौधरीले सबारी फिर्ता गरेर इमान्दारीताको पाठ सिकाएको हुँदा उनिबाट समेत अन्यले पाठ सिक्न जरुरी रहेको सापकोटाको भनाई रहेको छ । रौतहटमा चन्द्रपुर सँगै गौर नगरपालिकाका मेयर अजय गुप्ताले पनि आफूले चढ्दै आएको सरकारी गाडी नगरपालिकालाई यसअघि नै बुझाईसकेका छन् ।