प्राइम खबर संबाददाता | मंसिर २९, २०७९ बिहिबार

कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो ।

दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एकरएक गोल गरे ।



फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दाबेदारको रुपमा हेरिएको छ । तर मुख्य प्रतिस्पर्धा मेस्सी र एम्बाप्पेबीच नै देखिएको छ । दुवै खेलाडीले ५/५ गोल गरेका छन् ।

असिस्टको आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट रहेको छ।