प्राइम खबर संबाददाता | बैशाख २०, २०८० बुधबार

 मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुर स्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश संचार सम्मेलनमा संवोधन गर्दै सो कुरा बताएका हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा प्रदेश स्तरिय कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए । संचारकर्मी र संचारमाध्यमका लागि हित अनुकुलका ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले  धारणा ब्यक्त गरे । पत्रकारका समस्या आफुले बुझेको जनाउँदै उनले यस प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षय कोषका लागि एक करोड रुपैयाँ माथिको सहयोग राशी आँउदो वर्षमा दिने समेत जानकारी दिए । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को अवसरमा बुधबार विहान चन्द्रनिगाहपुरमा नेपाल पत्रकार महाँसघका पुर्वअध्यक्ष तारानाथ दहालसमेतको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
मुख्यमन्त्री सरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयमा वक्ताहरुले चर्चा र छलफल भएको थियो । कार्यक्रममा रौतहट क्षेत्र नं- ४ का संघिय सांसद देवप्रसाद तिमलसिना,प्रदेश सांसद युवराज भट्टराई लगाएतका वक्ताले पत्रकार पेशालाई मर्यादित वनाउनेतर्फ ध्यान दिन जोड दिए । नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६-६ जनाको सहभागि रहनुभएको थियो । 
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,केन्द्रीय सदस्यद्वय शिवपुरी, केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्षसहितको सहभागिता रहेको थियो ।