न्यूज डेस्क | जेठ ११, २०८३ सोमबार

सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्जस्थित कालिन्जोर खोलामा मापदण्ड विपरीत उत्खनन गरिएको पाइएपछि ठेकेदार कम्पनीलाई लाखौँ रुपैयाँ जरिवाना गरिएको छ ।


कालिन्जोर खोलाको उत्खनन कार्य कुण्डलिनी कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का लिएको थियो । तर, केही स्थानीयको गुनासो तथा अपारदर्शी ढंगले जथाभावी उत्खनन भइरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको टोली अनुगमन तथा जाँचबुझका लागि पुगेको थियो ।



टोलीले गरेको नापजाँचका क्रममा तोकिएको मापदण्डभन्दा बढी उत्खनन गरिएको तथ्य फेला परेको बताइएको छ । त्यसपछि कुण्डलिनी कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई ४४ लाख ४१ हजार ७५० रुपैयाँ जरिवाना तोकिएको जनाइएको छ ।



स्थानीयका अनुसार यसअघि पनि पटक–पटक खोलामा अत्यधिक उत्खनन हुँदै आएको थियो । तर, सम्बन्धित निकाय मौन बसेको आरोप लाग्दै आएको थियो । यसपटक भने स्थानीयवासीले उजुरी दिएपछि कालिन्जोर खोलाको नापजाँच प्रक्रिया अघि बढाइएको हो ।

स्थानीयले प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।