प्राइम खबर संबाददाता | असार १, २०८० शुक्रबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘आदिपुरुष’को विवादित डायलग नसच्याए फिल्म चल्न नदिने भन्दै चेतावनी दिएपछि अन्ततः आदिपुरुष टिम झुकेको छ । मेयर शाहको चेतावनीपछि फिल्म टिमले विवादित डायलग नै फिल्मबाट हटाएको हो ।

‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलग विवादित भएको भन्दै मेयर शाहले बिहीबार साँझ फिल्म चल्न नदिने चेतावनी दिएका थिए । यसो त ‘आदिपुरुष’ टिमले बिहीबार नै नेपालमा प्रदर्शनी हुने फिल्ममा उक्त डायलग ‘म्युट’ गरी सेन्सर पास गराउन खोजेको थियो । तर, उक्त डायलग सबैतिर प्रदर्शन हुने फिल्मबाट नहटे काठमाडौंमा फिल्म चल्न नदिने मेयर शाहको अडानपछि आदिपुरुष टिमले विवादित डायलग सबैतिर हटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



‘आदिपुरुष’मा भएको उक्त परिवर्तनलाई भारतीय सञ्चार माध्यम तथा फिल्म क्रुले पनि ठूलो परिवर्तनका रुपमा व्याख्या गरेका छन् ।

फिल्म चल्ने ठूलो अपेक्षाकाबीच प्रदर्शनीको केही समयअघि मात्रै काठमाडौंका मेयर बालेन्द्र शाहले फिल्मको उक्त डायलगप्रति आपत्ति जनाएका थिए । मेयर शाहको स्टाटससँगै शुक्रबार बिहान काठमाडौंका फिल्म हलहरुमा ‘आदिपुरुष’को बिहानी शो स्थगित गरिएको छ ।