न्यूज डेस्क | जेठ ४, २०८१ शुक्रबार

रौतहट ! जनकपुरबाट बीरगञ्ज आउँदै गरेको यात्रुवाहक बस रौतहटमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट बीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको मोहिनी ट्राभल्स नामक बस  पूर्वपश्चिम राजमार्ग स्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो ।  अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल ह्युमन हस्पिटल प्रालीमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आचार्यले जानकारी दिए । बस चालक जनकपुर उपमहानगरपालिका ७ बस्ने राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको प्रहरीले बतएको छ।