न्यूज डेस्क | जेठ ९, २०८३ शनिबार

नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रौतहटको वृन्दावन नगरपालिकाका नगर सभापति अरविन्द सहनी एक सातामै पुनः नेपाली कांग्रेसमै फर्किएका छन्।


जेठ ३ गते रास्वपाका प्रवक्ता मनिष झाको हातबाट टीका लगाएर रास्वपामा प्रवेश गरेका सहनी एक हप्ता नबित्दै पुनः नेपाली कांग्रेसमा फर्किएका हुन्। उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद देवप्रसाद तिमल्सिनाले स्वागत गर्दै पुनः पार्टीमा प्रवेश गराएका छन्।



वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति यादवका अनुसार सहनी पुनः कांग्रेसमा फर्किएसँगै नगर सभापतिको जिम्मेवारीमै कायम रहनेछन्।



पुनः पार्टी प्रवेशका क्रममा सहनीले आफू ‘बाटो बिराएर’ रास्वपामा पुगेको बताउँदै कांग्रेस नै आफ्नो राजनीतिक आधार र आस्था भएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।