न्यूज डेस्क | जेठ ९, २०८३ शनिबार
जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर आन्तरिक संकट गहिरिएको छ।
पछिल्लो चुनावमा पार्टीले व्यहोरेको लजास्पद पराजयपछि ओलीकै निकट मानिएका नेताहरूले समेत अब उनको नेतृत्वबाट एमाले अघि बढ्न नसक्ने निष्कर्षसहित पद छोड्न दबाब दिन थालेका छन्। शुक्रबार बसेको एमाले सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न औपचारिक रूपमा प्रस्ताव गरेका छन्।
पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनु पार्टीको गल्ती भएको भन्दै अब त्यसलाई पुनः लागू गरेर नेतृत्व परिवर्तनको बाटो खोल्नुपर्ने धारणा राखेका हुन्। बैठकमा पौडेलले चुनावी पराजयको गम्भीर समीक्षा हुनुपर्ने र त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका थिए। उनले ओलीलाई लक्षित गर्दै अहिलेको अवस्थामा तपाईंको नेतृत्वमा पार्टी अघि बढ्ने सम्भावना नरहेको र तल्लो तहका कार्यकर्तामा चरम निराशा रहेको बताएका थिए।
ओलीको विकल्प खोज्नुपर्ने लाइनमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विस्ट उभिएका छन्। उपाध्यक्षहरूमध्ये दोस्रो वरीयतामा रहेका पौडेलले सचिवालय बैठकमै नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि एमालेभित्रको विवाद स्पष्ट रूपमा दुई धारमा देखिएको छ।
बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने ओलीको बचाउ गरेका थिए। उनले पार्टी संकटमा रहेका बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए। बादलको भनाइपछि अध्यक्ष ओलीले त्यसैलाई पार्टीको लाइन भएको बताएका थिए। ओलीले पार्टी लाइनविपरीत जान कसैलाई छुट नहुने र अराजकता देखाउन नहुने भन्दै नेताहरूलाई सचेत गराउन खोजेका थिए। उनले नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई संकेत गर्दै कडा भाषा प्रयोग गरेपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए।
बैठकमा गुरुङले ओलीलाई प्रश्न गर्दै पार्टी निजी कम्पनी नभएको बताएका थिए। ओलीले सच्चिनुको साटो असन्तुष्ट नेताहरूलाई कार्बाही गर्ने शैलीमा चेतावनी दिन थालेपछि गुरुङले कडा जवाफ दिएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार गुरुङले भनेका थिए, “यो पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? तपाईंलाई आफ्ना सहकर्मीसँग मर्यादित कुरा गर्न आउँदैन ?” उपाध्यक्ष पौडेलले पनि ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउँदा आफूहरूले साथ दिएको भए पनि त्यो निर्णय गलत साबित भएको बताएका थिए। उनले अब पार्टीको लोकतान्त्रीकरणका लागि उक्त व्यवस्था पुनः कायम राख्नुपर्ने धारणा राखेका थिए।
बैठकमा ओलीलाई राख्ने र हटाउने दुई धार स्पष्ट देखिएपछि ओलीले आफैं व्यंग्य गर्दै अध्यक्षलाई हटाउनुपर्छ भन्ने धारको नेतृत्व विष्णु पौडेलले र अर्को धारको नेतृत्व रामबहादुर थापाले गरेको बताएका थिए। एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वमाथि औपचारिक रूपमा प्रश्न उठेपछि पार्टीको आगामी दिशा, नेतृत्व व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलन थप पेचिलो बन्ने देखिएको छ।