न्यूज डेस्क | जेठ २२, २०८३ शुक्रबार
रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको प्रथम जिल्ला अधिवेशन शनिबार गरुडा नगरपालिका स्थित एएन प्लाजामा हुने तयारी भइरहेका बेला जिल्लाको नेतृत्वलाई लिएर पार्टीभित्र व्यापक बहस सुरु भएको छ। अधिकांश स्थानीय नेता तथा कार्यकर्ताहरूले वर्तमान जिल्ला सभापति प्रदीप साहको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्।
सामाजिक सञ्जालदेखि पार्टीका आन्तरिक छलफलसम्म वर्तमान नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको देखिएको छ। जिल्ला संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको, कार्यकर्तालाई समेट्न असफल भएको तथा पार्टीको सांगठनिक विस्तार अपेक्षाअनुसार हुन नसकेको आरोप सभापति साहमाथि लागिरहेको छ।
अधिवेशन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा समेत नेतृत्व परिवर्तनको माग उठ्न थालेको छ। विभिन्न कार्यकर्ता तथा समर्थकहरूले पार्टीलाई बलियो बनाउन वर्तमान नेतृत्वको समीक्षा आवश्यक रहेको र नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्। फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट तथा टिप्पणीमार्फत प्रदीप साहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको देखिन्छ।
पार्टीका केही स्थानीय नेताहरूले रास्वपाले रौतहटमा अपेक्षित जनविश्वास र संगठन विस्तार हासिल गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्। उनीहरूका अनुसार पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न संगठनभित्र रूपान्तरण आवश्यक छ र त्यसका लागि नयाँ सोच तथा नयाँ नेतृत्वको खाँचो रहेको छ।
यसैबीच, प्रदिप साहले पार्टीमा सेटिङ मिलाएर पुनः नेतृत्व हत्याउन खोजेको भन्दै पार्टीभित्रका परिवर्तन पक्षधर भने निर्बाचनको पक्षमा उभिएको बताइन्छ। अधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुन दिनुपर्ने धारणा राखेका छन्।
शनिबार हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ। अधिवेशनले जिल्ला सभापति, उपसभापति,सचिव लगायत विभिन्न पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको बताइएको छ। नेतृत्व परिवर्तनको माग र वर्तमान नेतृत्वको बचाउबीच अधिवेशनको परिणामलाई लिएर कार्यकर्तामाझ चासो बढेको छ।
रौतहटमा रास्वपाको आगामी संगठनात्मक दिशा, नेतृत्वको स्वरूप तथा पार्टीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको यो अधिवेशनबाट आउने निर्णयले जिल्लाको राजनीतिक गतिविधिमा समेत प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।