न्यूज डेस्क | जेठ २२, २०८३ शुक्रबार

नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।


शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेको थियो।



पहिलो एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरिएको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो। जेठ १७ गत्ते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए।



अधिवेशनमा राकेश यादवसहितको समिति गठन भएको थियो। यादवसहितको समितिको नाम रास्वपाको वेबसाइटमासमेत अपलोड भएको थियो। पछि फेरि जेठ २० गत्ते वेबसाइटबाट उक्त समितिको नाम हटाइए पछि विवाद सृजना भएको हो।

आफूहरुको नाम वेबसाइटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

राकेश यादवका अनुसार रास्वपामा गुटबन्दी हुनु नराम्रो हो। उनले दुबै पक्षलाई समेटेर एक पुनः अधिवेशन गर्नुपर्ने माग राखेका छन्। उनले अधिवेशनको विवाद समाधान गर्नका निम्ती केन्द्रीय कार्यालयमा आफूले सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमार्फत समस्या सामाधन गर्न निर्देशन दिइएको सुनाए। यादवले जिल्ला पार्टी कार्यालयमा कोही नहुनु र जिल्लासभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा आउन नखोज्नु दुखद भएको बताए।

यादवले निश्पक्ष रुपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए। उनले पुनः अधिवेशन नभएसम्म आफूहरु ताला नखोल्ने चेतावनी दिएका छन्।