प्राइम खबर संबाददाता | माघ ४, २०७८ मंगलबार

जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाएको भन्दै मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा आन्दोलनकारीहरुको एक समूहले वीरगञ्जस्थित तेजारथ टोलमा रहेको उनको घरमा ढुङ्गा प्रहार गरेका छन् ।

कांग्रेसको वीरगञ्ज नगर समितिले निकालेको जुलुसले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेपछि उनको घरको सिसा फुटेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा रहेका आन्दोलनकारीहरुमध्ये एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेपछि झ्यालमा सामान्य क्षति भएको जानकारी दिएका छन् ।

ढुङ्गा फ्याँक्ने बिरगंज महानगरपालिका वडा नं १ का २६ वर्षीय सुमन पटेल रहेको प्रहरीले जनाएको छ । पटेललाई पक्राउ गरी आपराधिक उपद्रो सम्बन्धि कसुरको मुद्धा चलाई आवश्यक अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिएका छन् ।

  सोमबार प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम भएको हो ।

          पक्राउ परेका अभियुक्त  सुमन पटेल