प्राइम खबर संबाददाता | चैत १०, २०७८ बिहिबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरका महिला खेलाडीहरूलाई राष्ट्रिय लिग फुटबल प्रतियोगितामा २०७८ मा भाग लिन जाने फुटबल खेलाडीहरुलाई विदाई कार्यक्रम गरेको छ।

बुधबार नगरपालिका कार्यालयमा एक विदाई समारोह कार्यक्रमको आयोजना गर्दै चन्द्रपुरमा महिला खेलाडी हरुलाई एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूलाई सम्मान सहित विदाई गरेको हो । नगरप्रमुख रामचन्द्र चौधरीले जिल्लामा मात्र नभई सिंगो नेपाली महिला फुटबलको इतिहासमा चन्द्रपुरका खेलाडीहरुले कायम गरेको रेकर्ड स्मरण गराउँदै प्रतियोगितामा भाग लिन जाने खेलाडी हरुलाई उच्च मनोबलका साथ खेलेर चन्द्रपुर नगरपालिकाको शीर उच्च राख्न जितको अग्रिम शुभकामना समेत व्यक्त गरेका छन् ।



चैत्र १० गते देखि २९ गते सम्म संचालन हुने उक्त प्रतियोगिता चितवनको भरतपुर महानगरपालिकामा पहिलो चरणको खेल हुन लागेको हो । खर्क बहादुर आले मगरको नेतृत्वमा बुधबार प्रस्थान गरेको चन्द्रपुर महिला फुटबल टोलीमा ३० जना खेलाडी सहित सात जना अफिसियल समेतको टोली समावेश रहेको रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसुधन धितालले जानकारी दिएका छन् ।

चन्द्रपुर महिला फुटबल टोलीको उत्कृष्ट खेलाडीहरूले यस अघि अन्य विभिन्न नगरपालिकाका महिला फुटबल टोलीलाई पराजित गर्दै छनौटमा पर्न सफल भएको हो । रोजिना श्रेष्ठको कप्तानीमा राम्रो प्रदर्शन गर्दै खेलेको चन्द्रपुरका टोलीलाई प्रतियोगिता जिताउन टीम कोच नूरराज काफ्ले एबम् सहकोच द्वय चित्र दर्लामी र सुबोध गिरीको अथक मेहनत र प्रयास रहेको देखिन्छ ।

भरतपुरमा हुने उक्त लिग फुटबल प्रतियोगितामा पाँच वटा नगरपालिका र तीनवटा विभागीय टोली सहित आठ वटा टिम समावेश रहेको छन् । जसमा चन्द्रपुर नगरपालिका,वालिङ नगरपालिका, विराटनगर उपमहानगरपालिका,धनगढी उमहानगरपालिका,ललितपुर महानगरपालिका सहित तीन विभागीय टोली एपीएफ, एनपिसी र त्रिभुवन आर्मी रहेको महासचिव धितालले बताए ।

नगर प्रमुख चौधरीको कार्यकक्षमा भएको शुभकामना एबम् विदाई कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,उपप्रमुख रामरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल, अखिल नेपाल फुटबल संघ मधेश प्रदेश अध्यक्ष नेपाल कार्की , वडा अध्यक्ष अम्बर आले ,खड्ग बहादुर कुष्वार, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान बहादुर दर्लामी, नेपाली राष्ट्रिय टिमका पुर्व क्याप्टेन खेलाडी राजु काजी शाक्य, टीम कोच ,खेलाडीहरू लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।