प्राइम खबर संबाददाता | बैशाख २४, २०७९ शनिबार

एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार रहेको आरोप लगाएका छन् । शुक्रबार नेपालको गृह जिल्ला  रौतहट पुगेका अध्यक्ष ओलीले   एमाले रौतहटले जिल्ला सदरमुकाम गौर र चन्द्रपुर गरी दुई स्थानमा गरेको छुट्टा छुट्टै आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे  यस्तो बताएका हुन्।

सत्तागठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफैँ कुहिँदै गएको ओलीको आरोप छ। नेपाल एमालेमा रहुन्जेल आफूलाई रौतहटमा टेक्नसमेत नदिइएको ओलीले बताए ।

रौतहटमा विकासको बाधक नै माधव नेपाल रहेको उनको भनाइ थियो । यत्तिका वर्ष सम्म रौतहट बासीले नेपाललाई नेता मान्नु नै भूल भएको अध्यक्ष ओलीले बताए ।

आजभन्दा ४९ वर्ष पहिला आफू गौर जेलमा बसेको र रौतहटमै पार्टीको काम गरेकाले यहाको समस्यासँग आफू परिचित रहेको उनको दाबी छ। अध्यक्ष ओलीले सत्तागठबन्धनले आफ्नो पार्टीलाई कुनै फरक नपर्ने बताउँदै एमालेका उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह समेत गरेका छन् ।

बिहान ११ बजे नै ओली चन्द्रपुर आउने भनिएको भएतापनि निर्धारित समयभन्दा ५ घण्टा ढिलो आएपछि एमाले कार्यकर्तामा निराशा छाएको थियो । यद्यपि अध्यक्ष ओली आएपछि भने कार्यकर्ता खुसी हुँदै अध्यक्ष ओलिको पक्षमा नारा लगाएका थिए ।