प्राइम खबर संबाददाता | भदौ ३१, २०७९ शुक्रबार

साफ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध १ गोलले अग्रता लिँदै जीत हासिल गरेको छ। नेपालको तर्फबाट रश्मीकुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि नेपालले १–० को अग्रता बनाएको थियो । प्रिति राईले दिएको पासमा रश्मीले बक्सभित्रबाट बल कन्ट्रोल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । रौतहटकी रश्मी नेपाली महिला टिमकी प्रतिभावान खेलाडी हुन् । उनले उमेर समूहबाट पनि नेपालका लागि फुटबल खेलिसकेकी छन् । उनको एक गोलले नै नेपाललाई एतिहासिक जीत दिलाएको छ ।  
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो तर फिनिसिङ गर्न सकेन । प्रिति राईले ३३ औं मिनेटमा बक्स बाहिरबाट हानेको भलि प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । यसअघि २०१६ मा नेपाल र भारतले सेमिफाइन्ल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।
हालसम्म साफमा नेपालले भारतलाई हराउन नसकेको रेकर्डलाई आज नेपालले तोडेको छ । बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।  
शुक्रबार नै भएको पहिलो पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्त्रले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गर्‍यो । ऊ अपराजित रहँदै फाइनल पुग्यो । बंगलादेशले दोस्रोपटक फाइनलको यात्रा गरेको हो । ऊ अघिल्लोपटक सन् २०१६ को साफमा फाइनल पुगेको थियो । यद्यपि बंगलादेशले उपाधि भने जित्न सकेको छैन । योसँगै बंगलादेशले इतिहास रचेको छ । उसले हालसम्मकै फराकिलो गोल अन्तरका साथै फाइनल प्रवेश गर्दै इतिहास रचेको हो । अब फाइनल खेलको लागि बंगलादेश संग नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । भारतलाई पराजित गरेको नेपालले फाइनलमा उपाधिको लागि निकै दाबेदार मानिएको छ।
रस्मीका केही तस्बिरहरु