सन्तोष काफ्ले | मंसिर १९, २०७९ सोमबार

चन्द्रपुर नगर उद्योग बाणिज्य संघको आयोजनामा कमेडी यात्रा कार्यक्रम सम्पन्न भएको छ । आईतबार साँझ ६ बजे बाट सुरु भएको उक्त कार्यक्रम करिब ९ बजे सम्पन्न भएको थियो ।
 संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रम संघको भवन निर्माण सहयोगार्थ आयोजना गरिएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए । चन्द्रनिगाहपुर स्थित होटल अशोका प्लाजाको हलमा आयोजित कमेडी यात्रा च्यारिटी शो कार्यक्रममा हास्य कलाकारहरु जितु नेपाल “मुन्द्रे” शिव शंकर रिजाल “जोगिन्दर पानवाला” सुरेन्द्र केसि “मुलासाग” सुमन कार्की, निरज नेपाल, मिलन नेवार “गायिका” राधिका कंडेल “गायिका” लगायतको बेजोड प्रस्तुति रहेको थियो ।
 कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सेना, चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्ले लगायत विभिन्न क्षेत्र सँग आबद्ध व्यतीहरु सहितका दर्शकको समेत बाक्लो उपस्थिति रहेको थियो । गोल्डेन ओएक को टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रममा दर्शकले टिकटको साथमा डिनर सहित ड्रिङ्कको पनि सेवा निःशुल्क उपलब्ध रहेको अध्यक्ष सापकोटाले बताए । कार्यक्रममा प्रति टिकट एक हजार पाँच सय रुपैयाँ तोकिएको र उक्त कार्यक्रमबाट संकलित रकम संघको आफ्नै निर्माणाधीन भवनको निर्माण कार्यमा प्रयोग गरिने अध्यक्ष सापकोटाको भनाइ रहेको छ ।
 कमेडी यात्रा कार्यक्रममा सहभागी दर्शकहरुले विभिन्न नेताहरुको क्यारीकेचर र प्रहसनबाट स्वच्छ मनोरञ्जन लिनुका साथै स्वादिष्ट भोजनको साथमा गोल्डेन ओएकको चुस्की समेत लगाउन पाउँदा निकै प्रसन्न भएको दाबी आयोजकको रहेको छ। आयोजक संघले आइतबारको कार्यक्रम मार्फत यस स्थानमा लामो समयपछि साथीभाइ एक आपसमा भेटघाट हुने अवसर मिलाइदिएको प्रति स्थानीय युवा गोपाल हुमागाईले आयोजकको काम प्रसंशा योग्य रहेको बताए ।