सन्तोष काफ्ले | माघ २९, २०७९ आइतबार

रौतहट जिल्लाको समनपुरमा प्रत्येक वर्षझै‌ लाग्दै आएको फागु‌ बैरिया मेला यसवर्ष पनि आयोजना हुने भएको छ ।

प्रत्येक वर्ष फागुन पुर्णिमाको अवसरमा आयोजना हुने फागु बैरिया मेला यसवर्ष पनि धुमधामका साथ लगाउन तयारी थालिएको गढीमाई नगरपालिकाले जनाएको छ । आईतबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत सो मेलाको आयोजना र तयारीबारे नगरपालिकाले बताएको हो । मेला फागुन १९ देखि २३ गते सम्म पाँचदिन सम्म चल्ने गढीमाई नगरपालिकाले जनाएको छ।



परम्परागत र निरन्तर रुपमा लाग्दै आएको इतिहास बोकेको यस फागु मेलाका लागि यसवर्ष विशेष तयारी सहित धुमधामका साथ गर्न लागिएको हो । गढीमाई स्थित रहेको समनपुरबासी स्थानीयको सहयोगमा ब्रिटिश फौजलाई पराजित गरेको गौरवमय ऐतिहासिक दिनको सम्झना सहित जिल्लाको समनपुरमा हरेक फागु पुर्णिमाको अवशर पारेर मेला लाग्ने गरेको किम्बदन्ती रही आएको छ।

”हाम्रो संस्कृति, हाम्रो परम्परा, समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महोत्सव २०७९ ” भन्ने मुल नाराका साथ मेलाको तयारी‌ धुमधामका साथ हुने गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बताए । ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिमा मेला आयोजना गर्दा यहाँको संस्कृति नै पहिचान भएको कारण यसलाई जोगाउने र यहाँको इतिहासबारे देशभर जानकारी गराउने उद्देश्यले यसपटक भव्यरुपमा मेला आयोजना गर्न लागिएको नगरप्रमुख यादवले बताए ।

गढीमाई नगरपालिकाको आयोजना र नेक्टार डिजिटल प्रा.ली को व्यवस्थापनमा हुन लागेको उक्त मेला  पाँच दिनसम्म सञ्चालन हुने र सो ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानीय कला, साहित्य, संस्कृति, पर्यटन र ऐतिहासिक एबम् पुरातात्विक महत्व बोकेको समनपुरले आन्तरिक पर्यटन प्रवर्द्धन गराउन गढीमाई नगरपालिकाको मुख्य लक्ष्य रहेको बताइएको छ।

यस मेलाको उदेश्य नेपालीहरुले ब्रिटिश सेनालाई समनपुरबाट लखेटेको ऐतिहासिक दिनको सम्झना गराउनु, नेपालकै गौरवशाली इतिहासको संरक्षण र प्रचार प्रसार गर्नु, स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्नु, स्थानीय संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसार गर्नु , स्थानीय खानाको प्रवर्द्धन गर्नु, स्थानीय व्यवसायको विकास गर्नु आदि रहेको नगरपालिकाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले बताए ।

‘नेपाल–अंग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले यस नगरपालिकाको आफ्नै एतिहासिक विशेषता रहेको छ,’ उनले भने, ‘ एक सातासम्म सञ्चालन हुने ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानीय कला, साहित्य, संस्कृति, पर्यटन र ऐतिहासिकताको प्रवर्द्धन गर्न गर्ने हाम्रो लक्ष्य रहेको छ । यसमा सबैको साथ सहयोगको आवश्यकता रहेको छ ।’

गढीमाई नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष रामपुकार राय यादवले गढीमाई नगरपालिकामा नेपालकै दोस्रो ठुलो गढीमाई मन्दिर रहेको र पाँच वर्षमा लाग्ने नेपालकै दोस्रो ठूलो गढीमाई मेलामा आउने लाखौं धार्मिक पर्यटकहरुको घुँईचोले यस नगरपालिकाको महत्वलार्ई दर्साएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले नेपालीहरुले ब्रिटिस सेनालाई समनपुरबाट लखेटेको ऐतिहासिक दिनको सम्झना गराउनु, नेपालकै गौरवशाली इतिहासको संरक्षण र प्रचार गर्नु, स्थानीय उत्पादनहरुको प्रवद्धन गर्नु, स्थानीय संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसार गर्नु, स्थानीय खानाको प्रवद्धन गर्नु, स्थानीय व्यवसायको विकास गर्नु मेलाको प्रमुख उद्धेश्यहरु रहेको बताए ।नगरपालिकाले उक्त मेलाका लागि करिब २० लाख बजेट विनियोजन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।