प्राइम खबर संबाददाता | भदौ १८, २०८० सोमबार

  रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमती नदीको खोला किनारमा गरीएको वृक्षारोपण हुर्किन थालेको छ । डिभिजन वन कार्यालय रौतहट मार्फत असारमा गरिएको वृक्षारोपणलाई सिमेन्टको पोलमा तारजाली राखेर संरक्षण गर्ने थालेपछि विरुवा हुर्किन थालेको हो ।  बागमतीमा रहेको दोभान सामुदायीक वनको पूर्वपटिको नदीको किनारमा वृक्षारोपण गरिएको थियो। सो क्षेत्रमा करिव १८ हेक्टरमा विभिन्न प्रजातीको बिरुवा रोपिएको सहायक वन अधिकृत सुरेश महतोले बताए । उनका अनुसार अहिले विरुवा संरक्षणको काम भैईरहेको छ । सो क्षेत्रमा बाख्रा र गाई भैसी, चराउने गरेकाले सो क्षेत्रमा विरुवा हुर्काउन जनावर र चरुवाहरुबाट नै दुख दिने परेको उनको गुनासो छ । केहि चरुवाहरुले सो क्षेत्रमा गरिएको तारजाली पोल भत्काउने र विरुवामा पनि क्षति गर्ने काम गरेको पाईएको उनी बताउँछन्। हाल सो क्षेत्र भएका विरुवालाई हुर्काउनका लागि अहिले संरक्षणका काम थालिएको उनको जिकिर छ । वृक्षारोपण भन्दा पनि विरुवा हुर्काउन कठिन हुने गरेको भन्दै स्थानियबाट सहयोग नहुने गरेको दुखेसो अधिकृत महतोको छ । सो क्षेत्रका विरुवा हुर्काएर करिव १५ देखि २० बर्षमा करोडौको आम्दानी हुने सहायक वन अधिकृत महतोले बताए । आर्थिक आम्दानी संगै बातावरणमा पनि यसले फाईदा पुग्ने उनको तर्क छ । केहि बर्षपछि त्यस क्षेत्रमा डाँले घाँस प्रशस्त पाईने भएकाले समुदायमा रहेका स्थानिय पशुपालक कृषक यसबाट लाभवन्ति हुने उनले बताए  । गौरवको आयोजना रेलमार्ग त्यस सामुदायिक वन क्षेत्र भएर गएको हुँदा धेरै मात्रामा रुख कटान भएकाले यस वृक्षारोपणले परिपुर्ति गर्ने उनको धारणा छ । उक्त भु भागमा नदी किनार उकासको जमिन उपयोग विहिन अवस्थामा रहेको थियो । सो जमिनमा नै वृक्षारोपण गरिएकाले हुर्काउन सकेमा आम्दानीसंगै त्यस क्षेत्रका बासीले वतावरणीय तथा अन्य फाईदा लिन सक्ने उनले बताए । सो क्षेत्रमा खयर, सिसौ, जामुन, अमला, बडहर, टिक , सतिसाल लगायतका विरुवा रोपिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय भएको आकाशे बर्षाले बिरुवा हुर्कन मद्धत गरेपनि संगसंगै प्रशस्त मात्र घाँसहरु पलाएर आएकाले हाल रोपिएका बिरुवाहरु स–साना नै रहेकाले नजिकबाट मात्र देखिन्छ ।