प्राइम खबर संबाददाता | असोज ७, २०८० आइतबार

रौतहटका व्यवसायी सुनिल बानियाँले आफु बैंकको कर्मचारीको कारण पीडित भएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा पोखेको अभिव्यक्तिले अहिले बजार तातेको अवस्था रहेको छ। 

रौतहटको चन्द्रपुरमा रहेर व्यवसाय गर्दै आएका बानियाँले भिडियो मार्फत व्यक्त गरेको अभिव्यतिमा आफू व्यापारी भएको र आफ्नो छाता संस्था चन्द्रपुर नगर उद्योग वाणिज्य संघले समेत सहयोग नगरेको समेत आरोप लगाएका थिए।



सोही विषयमा अहिले जिल्ला लगायत चन्द्रपुरमा समेत चर्चा परिचर्चाको विषय बन्दै गर्दा चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले उक्त कुराको खण्डन गरेका छन्। आईतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै अध्यक्ष सापकोटाले व्यवसायि बानियाँले लगाएको आरोप निराधार रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् । "विगत केही समय देखि सार्वजानिक भइरहेका आर्थिक अपराधको आरोप प्रत्यारोपले बजारमा नकारात्मक असर पारिरहेको छ । जिल्ला प्रशासन कार्यालयले गहिरो अनुसन्धान गरी/गराई सत्य तथ्य सार्वजनिक गरी आरोपित दोषी देखिए हदै सम्म कानुनी कारवाही गर्न, र आरोप प्रमाणित हुन नसके चरित्र हत्या गराउने व्यक्तिहरूलाई पनि कानुनी कारवाही गरेर समाजमा सकारात्मक संदेश प्रवाह गर्न जोडदार माग गर्दछौं । आफूलाई पीडित भनी भिडियो सार्वजानिक गर्ने सुनिल बानियाँले चन्द्रपुर उद्योग बाणिज्य संघले पनि सहयोग गरेन भनि लगाएको आरोप प्रती हाम्रो ध्यानाकर्षण भएको छ । वहाँले मौखिक रुपमा केही समस्या छन, छलफल गराइदिन सहयोग गर्दिनुस भन्नुभएको हो, तर छलफलको लागी दुवै पक्षलाई बोलाउँदा सुनिल बानियाँ उपस्थित नहुनुभएको, एक पक्ष उपस्थित भएर घण्टौं बस्दा म आफैले पटक पटक फोन गरेर बोलाउँदा समेत सुनिल बानियाँ उपस्थित नभएर उद्योग बाणिज्य संघले सहयोग गरेन भनि लगाएको आरोप निराधार रहेको छ ।"