प्राइम खबर संबाददाता | पुस १, २०८० आइतबार

सर्लाहीको भरत तालमा शनिबारबाट जेट स्की संचालनमा आएको छ । बागमती इन्टरटेनमेण्ट प्रा.लि.ले सुरुवात गरेको जेट स्कीको शनिबार बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उद्घाटन गरेका थिए ।
एकजना चालक र दुईजना यात्रु क्षमताको जेट स्कीे ५५ लाख लागतमा तालमा भित्राइएको बागमती इन्टरटेनमेण्ट प्रा.लिका संचालक गौतम खड्काले जानकारी दिएका छन् ।
विदेशका समुन्द्रमा चलेको जेट स्की सामाजिक संजालमा देखेका रौतहट ,सर्लाही सहित मधेश प्रदेशका आम सर्वसाधारणका लागि अव यो अवसर भरत तालमा प्रदान गरिने संचालक खड्काको भनाइ रहेको छ । मानव निर्मित “भरत तालमा सर्वसाधारणका लागि बिभिन्न मनोरंन्जनका साधनहरुको रहेकोमा पछिल्लो समय शनिबारबाट जेट स्कीको मजा सर्बसाधारणले लिन पाँउने भएका हुन ।
मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्दैछ, भरत ताल । बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि भरत ताल पहिलो रोजाइमा पर्ने गरेको छ । पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । अव भरत ताल घुम्न आउनेले वाहय तथा आन्तरिक पर्यटकले जेट स्कीको मजा लिन पाँउने संचालक खड्काको भनाइ रहेको छ ।
भरत ताल बनेपछि ताल घुम्ने र बोटिङ गर्न रहर बुनेकाहरूलाई सयौं किलोमिटर जानुपर्ने बाध्यता टरेको छ । ताल बनेपछि अहिले सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका सयौं पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेका छन् । लेक साइडको अनुभूति दिने भरत ताल बनेपछि पर्यटकहरू रमाएर जाने गरेको स्थानीयहरू बताउँछन् । चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ। प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको छ। तालको वरिपरि रहेको बगैंचाले पर्यटकहरूको मन झनै लोभ्याउने गरेको छ। बिदाको दिन पिकनिक मनाउन आउने पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।