न्यूज डेस्क | फागुन १९, २०८० शनिबार

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले खेल क्षेत्रबाट नाम, दाम सम्मान कमाउन सक्ने गरी अनुशासित रुपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रह गरेका छन् । चन्द्रपुर नगरपालिकाले पनि खेल क्षेत्रको वृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्नु भएको हो ।

चन्द्रपुर नगरपालिका स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको शुक्रबार चन्द्रपुर ४ स्थित तुलसी लाल स्मृति रंगशाला खेलमैदानमा उद्घाटन गर्दै प्रमुख अतिथि काफ्लेले प्रतिष्पर्धाले मानव जिवनलाई गतिशील बनाउने हुँदा खेलमा अनुशासन अति आवश्यक रहेको बताएका छन् ।



खेलमा सफलता प्राप्त गर्न एक्लै सम्भव नहुने हुँदा सामुहिकताका माध्यमबाट सहकार्य गरी अघि बढ्नु नै सफलताको आधार रहेको उहाँको भनाई थियो । स्थानीय स्तरबाट शुरु गरिएको खेलबाट पालिका हुँदै जिल्ला प्रदेश र देश विदेशको प्रतिनिधित्व कायम गर्न सक्ने गरी खेल क्षेत्रमा लाग्न पनि उनले खेलाडीहरुलाई हौसला प्रदान गरेका छन्।

पहिलो संस्करणको वडा अध्यक्ष कप नकाउट फुटबल प्रतियोगिता उद्घाटन समारोहको अध्यक्षता गरेका वडा नंबर ४ का वडा अध्यक्ष रवि रानामगरले पुर्वाधार विकासको आधार सामानिक विकास रहेको बताएका छन् । वडाले भौतिक विकासलाई दिगो राख्न सामाजिक विकाससँगै मानिसको व्यवहार, आचरण तथा सोँच परिवर्तनमा लागि परेको बताए ।

नगर प्रमुख काफ्लेले अवका युवालाई सुधार गृह नभई खेल मैदान अति आवश्यक भएकाले हरेक वडामा खेल मैदान निर्माण गरेर उनीहरुको रुची अनुसारको खेलमा लाग्न प्रेरित गर्ने काम चन्द्रपुर नगरपालिका ले गरिरहेको बताए ।

नियमित खेलमा लागेपनि प्रतिष्पर्धा आवश्यक हुने हुँदा चन्द्रपुरले धेरै ठाउँमा खेलकुद मैदान बनाएर युवाहरुलाई खेलमा आकर्षण गर्दै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै नगर प्रमुख काफ्लेले हरेक क्षेत्रको व्यावसायिकिकरण भए जस्तै खेलमा पनि व्यावायिकिकरण जरुरी रहेको बताए ।

उनले भर्खरै सम्पन्न वाफ वुमन फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सिर उचो बनाएका  राष्ट्रिय टिममा सहभागी चन्द्रपुर नगरपालिकाका महिला खेलाडी हरुलाई समेत सम्मान गर्ने  आफ्नो तयारी रहेको समेत बताए। खेलको माध्यमबाट खेलकुदको  विकासले पर्यटन प्रवद्र्धन हुने मात्रै नभई आर्थिक क्षेत्र पनि चलायमान हुने हुँदा यसबाट सबैले लाभ लिने गरी अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै, चन्द्रपुर ५ का वडा अध्यक्ष निलहरी कोइरालाले खेल क्षेत्रबाट राष्ट्रको उन्नति हुने मात्र नभई देशको गरिमा माथि उठाउन भुमिका खेल्ने बताएका छन्।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रानामगरले खेल क्षेत्रमा विशेष योजना बनाएरै अघि बढेको जिकिर गर्दे यस पटक वडा स्तरीय फुटबल प्रतियोगिता संचालन गरिएको जानकारी गराए । अनुशासन मानव जीवनमा अति आवश्यक पर्ने हुँदा खेल क्षेत्रबाट नयाँ पुस्तालाई अनुशासन सिकाउने बलियो आधार खेल नै भएको उनको भनाई रहेको थियो ।

सो अवसरमा वडा अध्यक्षहरुका तर्फबाट वडा नम्बर ५ का अध्यक्ष निलहरी कोइराला, नेकपा एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव प्रसाद आचार्य, फुटबल संघका अध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहको सहजीकरण नेपाल खेलकुद क्लब चन्द्रनिगाहपुरले गरेको थियो ।

शुक्रबार भएको पहिलो संस्करणको वडा अध्यक्ष कप फुटबलमा चन्द्रपुर वडा नम्बर १ र वडा नम्बर ४ बीच भएको प्रतिष्पर्धामा वडा नम्बर १ विजयी भएको छ । खेलको निर्धारित समयमा खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा थपिएको अतिरिक्त समयमा समेत नतिजा नआउँदा खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुट आउटमा वडा नं ४ लाई हराउँदै वडा नम्बर १ लें विजयी सुरुवात गरेको छ।

 प्रतियोगिता अन्तर्गतका सबै खेल तुलसीलाल अमात्य खेल मैदानमै हुने छ । नकआउट चरणमा खेलाइएको खेलको फाइलन खेल २८ गते हुने भएको छ । प्रतियोगिताका विजेताहरुलाई फागुन २८ गते एक समारोहका बीच पुरस्कृत गरिने तय भएको आयोजक वडाका अध्यक्ष रवि रानामगरले जानकारी गराए ।