न्यूज डेस्क | फागुन २१, २०८० सोमबार

रौतहट जिल्लाको गौर स्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ ।

अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा र मधेश प्रदेश मन्त्री स्तरीय टोलीले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए-नभएको हरेक छ/छ महिनामा अनुगमन गर्ने गरेको अस्पतालका अध्यक्ष मो. अनवर हाशमिले बताएका छन् ।



विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भए-नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हाशमी बताउँछन् । उनले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए। ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छौँ’, उनले भने, ‘अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।’

उनले अस्पतालको सेवा सय प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । ‘हामीले सुविधा सम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष हाशमीले भने, ‘सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् ।’ उनले डायलिसिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको बताए ।

अस्पतालमा हाल विशेषज्ञ डाक्टर, मेडिकल अफिसर र डेन्टलले सेवा दिँदै आएका छन् । ‘अस्पतालमा अझै नर्सिङ स्टाफको पनि अभाव छ, भौतिक संरचना निर्माण हुँदै छन्’, उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि सरकारसँग आग्रह गरिरहेका छौँ ।’

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा भेटिएका नरेश महतोले अस्पतालमा सहज रूपमा सेवा पाइरहेको बताए । ‘धेरै अगाडि अस्पतालमा आएको थिए, त्यति बेला यहाँ सामान्य उपचार पनि हुन्थेन, भारत जानु पर्थियो, उनले भने, अहिले यही अस्पतालमा शल्यक्रिया समेत हुने गरेको देखेपछि खुसी लागेको छ ।’ त्यसै गरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताएका छन् ।

पछिल्लो समय अस्पलालमा मेडिकल सुपरिटेनडेन्ट डा. मुरारी ठाकुर आए पश्चात सेवा सञ्चालनमा सहज हुँदै आएको अनुभव सेवाग्राहीको समेत रहेको छ । उपचारका नाममा निजी क्लिनिक तथा अस्पतालमा धाउनुपर्ने र महंगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य प्रादेशिक अस्पतालले गर्नेमा विश्वस्त हुन अध्यक्ष हाशमीको जोड़ रहेको छ। उनी भन्छन “प्रादेशिक अस्पताल गौरमा सम्पूर्ण सेवा सुबिधा उपलब्ध छ तसर्थ उपचारको नाममा अब बाहिर पैसा खर्च नगर्न रौतहट बासीहरुमा आफ्नो अनुरोध रहेको बताएका छन् ।