न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

रौतहटको ईशनाथ नगरपालिकास्थित बन्जरहाबाट सोमबार राति स्रोत नखुलेको १० लाख नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले आज मंगलबार सार्वजनिक गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रूपमा खटिएको टोलीले ईशनाथ–१ स्थित भित्रि सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर जाँच गर्दा स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

सवारीजाँचका क्रममा गाडी चालक हेटौंडा उपमहानगरपालिका १४ का रामरति मोक्तान र मनहरि गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङलाई स्रोत नखुलेको १० लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीको पछाडि सिटमा बसेका देवराजले बोकेको कालो रङको झोलाबाट रकम बरामद भएको र स्रोतबारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारबाहीका लागि गाडीसहित दुवैलाई मंगलबार गौर भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरीले जानकारी दिइन् ।