न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

चुरेक्षेत्रबाट ढुङ्गा, गिट्टी र वालुवाको अवैध उत्खनन्मा प्रयोग गरिएका एक जेसिभी र एक टिपर नियन्त्रणमा लिइएको छ ।


सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ मा पर्ने चोहर्वाको चुरेवन त्यहाँस्थित सैनिक क्याम्प पछाडिको भूभाग हो । सबडिभिजन वन कार्यालय चोहर्वाको गश्ती टोलीले चुरेवन क्षेत्रमा उत्खनन् गरिरहेकै बेला ती साधनलाई नियन्त्रणमा लिइएको वनअधिकृत मनोजकुमार कर्णले बताए । जेसिभी र टिपरका चालहरू भने फरार भएका छन् । उनीहरूको खोजीका लागि नेपाल प्रहरीको सहयोग लिइएको डिभिजन वन कार्यालय सिरहाका डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।



सबडिभिजन वन कार्यालय चोहर्वाका प्रमुखसमेत रहेका वनअधिकृत कर्णले चुरेवन क्षेत्रमा उत्खनन् रोक्न निगरानी थप तीव्र बनाइएको छ । तीन महिनायता कडा निगरानीपछि उत्खननकै क्रममा जेसिबि र टिपmर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सिरहाका डिभिजनल वन अधिकृत सुजितकुमार झाले बताए । पछिल्लो कारबाहीका लागि वन अधिकृत कर्णको कमान्डमा खटिएको वनगस्ती टोलीमा वनरक्षक लगायतका टोलीले सो सवारी नियन्त्रणमा लिएका हुन् ।
 स्थानीयका विरोधका बाबजुद टोलेगुन्डाका मिलेमतोमा चुरेदोहन गर्ने गिरोहरूले कहिले हाकाहाकी त कहिले लुकीछिपी यस क्षेत्रमा गहिरा खाल्डा खनी ढुङ्गा, गिट्टी र वालुवा उत्खनन् गर्दैआएका छन् ।



डिभिजन वन कार्यालयले लहान नगरपालिका–१५ स्थित खुट्टीखोला, धनगढीमाई नगरपालिका–१२ स्थित सरेखोला, कर्जन्हा नगरपालिका–स्थित कमला खोला र पछिल्लोपटक नरहा गाउँपालिका–स्थित चुरेवन क्षेत्रमा ढुङ्गा, गिट्टी र वालुवाको अवैध उत्खनन् गरिरहेका पाँच एक्जाभेटर, १० ट्रयाक्टर, एक टिपर, एक भ्यान र १७ साइकल नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।