न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

बारामा सशस्त्र प्रहरीले भारतबाट लुकिछिपी नेपाल ल्याइँदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित सिरप औषधि बरामद गरेको छ । भारतको दसगजासँगै जोडिएको विश्रामपुर गाउँपालिका–१ को बङगरी खोला हुँदै ल्याइँदै गरिएको ‘ओनरेक्स’ नामको प्रतिबन्धित औषधिसहित एक जना भारतीय समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला अन्तर्गत हरपुर गाउँ पञ्चायत वडा नम्बर २ का २२ वर्षीय सोनुकुमार साह रहेका छन् । बोरामा टाउकोमा बोकी नेपाल ल्याइँदै गरिएको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले २ सय ३२ बोतल ओनरेक्स बरामद गरेको सीमा सुरक्षा बल ‘बोर्डर आउटपोस्ट’ बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
लागूऔषधका रूपमा प्रयोग गरिने प्रतिबन्धित उक्त झोल औषधिसहित पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको निरीक्षक थापाले बताए ।