न्यूज डेस्क | चैत १३, २०८० मंगलबार

रौतहटको गरुडामा रहेको मुख्य बजारमा रहेको मोटरसाईकल स्पेयर पार्टसको होलसेल विक्रेता पसलमा आगलागी हुँदा पसलमा रहेका पार्टपुर्जा सहितका सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । 
गरुडा नगरपालिका वडा नं. ४ स्थित रहेको  कुशवाहा ईन्टरप्राईजेजमा मंगलबार विहान करिव साढे १२ बजेको समयमा आगलागी भएको हो । आगोलागीबाट जिल्लाकै सबै भन्दा ठूलो मोटरसाईकल स्पेयर पार्टस गोदाममा  रहेको  मर्मतका लागि प्रयोग हुने सामग्रीसहित १० वटा मोटरसाईकल, नगद, ल्यापटप तथा अन्य सामग्रीहरु जलेर क्षति पुगेको  ईन्टरप्राईजेजका संचालक रंधिर कुशवाहले बताएका छन् ।

 प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर आगोलागी भएको बताइएको छ । पसलमा कोहि नभएको अवस्थामा राति आगोलागी भएकाले क्षति धेरै भएको उनको भनाई छ । मानविय क्षति नभएपनि पसलमा गोदाम गरेर राखिएको सम्पुर्ण पाटपूर्जा जलेर काम नै नलग्ने अवस्थामा रहेको उनले बताए । 
पसल रहेको घरमा आगलागीले क्षति गरेको छ । उनले आगलागीबाट करिव ६ करोड भन्दा बढीको क्षति पुगेको दावी गरेका छन् । मोटरसाईकल स्पेयर पार्टसको होलसेल विक्रेता तथा वर्कशप रहेको उक्त पसलमा राखिएको केहि थान नयाँ मोटरसाईकल तथा नगद जलेर नष्ट भएको संचालकरंधिर कुशवाहले बताए ।

 ईलाका प्रहरी कार्यालय गरुडाले घटनाको बारेमा जानकारी पाउनका साथ पुगेको थियो । सुरक्षाकर्मी, स्थानियबासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिनका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिका, हरीवन तथा निजगढको दमकल प्रयोग गरीएको थियो । आगोलागीको घटना भएको करिव ४ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठका अनुसार आगालागीको घटनाका बारेमा अनुसन्धान भै रहेको छ ।  आगलागीबाट करिव ६ करोडको क्षति भएको प्रारम्भीक अनुमान भएपनि यसको बारेमा अनुसन्धानपछि मात्र खुल्ने उनले जानकारी दिएका छन् । विधुत सर्ट भएर आगलागी भएको खबर प्राप्त भएको उल्लेख गर्दै उनले यस घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेको स्प्रष्ट पारेका छन् । मोटरसाईकलको बर्क शप रहेकोे घरमा क्षति पुगेको करिव रौतहट प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । 
२०७३ सालमा दर्ता भएर संचालनमा रहेको पसलबाट मोटरसाईकलको पार्टस पूजा विक्रि तथा मर्मतको कार्य हुँदै आएको थियो । आगलागीबाट धेरै क्षति पुगेकाले आफु मर्कामा परेको संचालक साहले दुखेसो गरेका छन् । गरुडा नगर उद्योग बाणिज्य संघले समेत उक्त घटनाले धेरै क्षति भएको उल्लेख गर्दै क्षतिपुर्ति वा अन्य कार्यका लागि आवश्यक सहयोग गर्ने जनाएको छ । आगलागीबाट भएको क्षतिको बारेमा कटहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुश्वाह तथा उद्योग बाणिज्य संघका पदधिकारीहरुले समेत स्थलगत निरिक्षण गरेका छन् । यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सर्तकता अपनाउन समेत जरुरी रहेको स्थानिय निकायका जनप्रतिनिधिहरु समेत बताउछन्  ।