न्यूज डेस्क | चैत १५, २०८० बिहिबार

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ : १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न सकेन । आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए । श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाडौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाडौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए । अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाडौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाएको थियो ।



यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो । त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो । यात्रुहरु निकै आत्तिएका थिए । यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् । जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भईसकेको थियो  काठमाडौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरु रोईरहेका थिए । उनीहरु निकै डराएका थिए ।