न्यूज डेस्क | बैशाख ५, २०८१ बुधबार

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ ।
चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड देखिन्छ ।
रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती बधाई गान र रातिमा समेत बधाई गान हुने सह महन्त रामरोशन दासले बताए ।
त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् ।
भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो । संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।
रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ । रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।